काठमाडौँ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले सो पालिकाभित्रका करारका कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने भएको छ ।
गाउँपालिकाले पालिकामा कार्यरत, वडा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत करारका कर्मचारीहरुलाई कोषमा आवद्ध गराउन लागेको हो । यसको लागि गाउँपालिको सम्बन्धित कर्मचारीहरुलाई फाराम भरेर सहभागी हुनको लागि सार्वजनिक सुचना नै प्रकाशन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।
‘यस बडिगाड गाउँपालिका अन्तर्गत गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत करार सेवाका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रयोजनका लागि आवश्यक विवरण संकलन गर्नुपर्ने भएकाले सम्बन्धित सम्पूर्ण कर्मचारीहरूले यो प्रकाशित भएको मितिले ३ ९तीन० दिनभित्र करारमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्व गर्ने सम्बन्धी कार्यविधि( २०८३ को अनुसूचि १ बमोजिमको ढाँचामा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सुचनामा भनिएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनको लागि सम्बन्धित श्रमिकले आफ्नो आधारभूत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताले आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम मासिक रुपमा नियमित कोषमा जम्मा गर्नुपर्छ । गाउँपालिकाका कार्यरत करारका कर्मचारीको रोजगारदाता गाउँपालिका नै भएकोले रोजगारदाताको तर्फबाट जम्मा गरिनु पर्ने रकम गाउँपालिकाले जम्मा गर्नुपर्ने हुन्छ ।





