बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले वडा नं. ७ मा खानेपानी योजना सञ्चालनका लागि आधिकारिक उपभोक्ता समिति दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको छ।
गाउँ कार्यपालिकाको कार्यालय, ग्वालिचौरले सूचना जारी गर्दै उक्त खानेपानी आयोजनाको मुहानका विषयमा कुनै दाबी विरोध भए स(प्रमाण पेस गर्न आह्वान गरेको हो।
जलस्रोत ऐन, २०४९ र नियमावली, २०५० को व्यवस्था अनुसार ‘खानेपानी स्वास्थ्य तथा सरसफाइ आयोजना उपभोक्ता समिति’ ले मुहानसहित आधिकारिक समिति दर्ताका लागि मिति असार ११ मा गाउँपालिकामा निवेदन दिएको थियो। सोही निवेदनका आधारमा गाउँपालिकाले यो कानुनी प्रक्रिया सुरु गरेको हो।
१५ दिने म्याद र दाबी विरोधको व्यवस्था
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीका अनुसार उक्त घोषित मूल तथा मुहानहरूमा कसैको हकदाबी वा विरोध भएमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र स-प्रमाण गाउँपालिकाको कार्यालयमा निवेदन दिनुपर्नेछ।
तोकिएको म्यादभित्र कुनै पनि दाबी विरोध वा उजुरी नआएमा नियमानुसार उक्त खोलाको मुहानसहित आधिकारिक उपभोक्ता समितिको नाममा दर्ता प्रक्रिया सम्पन्न गरिने गाउँपालिकाले जनाएको छ।





