बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भए तत्काल जानकारी गराउन बडिगाड गाउँपालिकाको आग्रह

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिक सम्पर्कविहीन भए तत्काल स्थानीय तहमा जानकारी गराउन आग्रह गरेको छ।

गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै मिति २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन लगायतका जिल्लाहरूमा कामका सिलसिलामा रहेका बडिगाडका नागरिकहरू सम्पर्कविहीन भएको हुनसक्ने भन्दै खोजी तथा उद्धारका लागि समन्वय गर्न विवरण माग गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीद्वारा जारी सूचना अनुसार उल्लेखित जिल्लाहरू तथा अन्य प्रभावित क्षेत्रमा रहेका बडिगाडका नागरिकहरू आफन्तजनसँग सम्पर्कविहीन भएको भए निजको नाम, स्थायी ठेगाना, सम्पर्क नम्बर र उपलब्ध अन्य विवरणसहित तत्काल सम्बन्धित वडा कार्यालय वा बडिगाड गाउँपालिकाको कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ।

यस्तै, सम्पर्कविहीन भएका नागरिकका परिवारजन, आफन्त तथा छिमेकीहरूले पनि विवरण प्राप्त हुनासाथ ढिला नगरी वडा कार्यालय वा गाउँपालिकामा जानकारी गराई खोज तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन गाउँपालिकाले हार्दिक अपिल गरेको छ। नागरिकहरूले सूचनामा दिइएको क्युआर कोड (QR Code) स्क्यान गरेर पनि आवश्यक विवरण उपलब्ध गराउन सक्ने गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update