काठमाडौँ । अछाम जिल्लाको ढकारी गाउँपालिकाले अनौठो निर्णय गरेको छ ।
संघ सरकारले शनिवार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेकोमा ढकारी गाउँपालिकाले भने सोभन्दा फरक व्यवस्था लागू गरेको हो ।
गाउँपालिकाले असार १ गते सार्वजनिक सुचना प्रकाशन गरी सार्वजनिक विदाको सम्बन्धमा विशेष निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश बहादुर बोहोराले जानकारी दिए । उनका अनुसार अब शनिवार आधा दिन कार्यालयहरु खुल्ने छन् भने आइतबार पूर्ण रुपमा बन्द हुने छन् ।
गाउँपालिकाको जेठ ३१ गते सम्पन्न कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । नेपाल सरकारबाट जारी हुने दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदाका कारण सेवा प्रवाह तथा शैक्षिक पठनपाठन प्रभावित हुन नदिन नयाँ निर्णय गरिएको गाउँपालिकाको भनाइ छ ।
नयाँ निर्णय अनुसार गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरु सोमबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन गरिने भएको छ । यस्तै, शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय भएको छ ।
संघ सरकारले सातामा दुई दिन विदा दिनु अघि शुक्रबार जुन समयलाई कार्यालय समय तोकेको थियो, ढकारी गाउँपालिकाले शनिवारलाई सोही समय कार्यालय समय तोकेको हो ।
यस्तै, आइतबारको बिदालाई निरन्तरता दिने निर्णय भएको छ । सरकारले सातामा दुई दिन विदा दिने निर्णय गर्नुअघि शनिवार सार्वजनिक विदा दिने प्रचलन थियो ।
यस्तै, सामुदायिक तथा संस्थागत विद्यालयहरू सोमबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म संचालन गर्ने निर्णय भएको छ । शनिबार भने बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म संचालन गर्ने निर्णय भएको छ । संघ सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गर्नुअघि शुक्रबार विद्यालय समय ढकारी गाउँपालिकाले अहिले शनिवारको लागि तोकेको समय जति नै थियो ।
आइतबारको बिदालाई निरन्तरता दिने निर्णय भएको छ । यसअघि शनिवार सार्वजनिक विदा हुने गर्दथ्यो ।
यो निर्णय असार १ गतेदेखि नै लागू भएको गाउँपालिकाले जानकारी दिएको छ ।





