काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन नरोकिने भएको छ । महाविधेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वाेच्च अदालतमा पेश गरेको निवेदन दरपीठ आदेश सदर भएसँग महाधिवेशन नरोकिने भएको हो ।
विशेष महाधिवेशनबाट सर्वसम्मत घोषणा भएका गगन थापा र १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन गर्ने तयारी गरेपछि दुबै महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वाेच्चमा निवेदन पेश भएको थियो ।
सो निवेदन सर्वाेच्च अदालतले दर्ता नगरी दरपीठ गरेको थियो । सो दरपीठलाई न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सदर गरेसँगै कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला भएको हो ।
‘प्रस्तुत निवेदन माग बमोजिमको नेपाली कांग्रेसको महाअधिवेशन सम्बन्धी कुनै पनि कार्य रोकी स्थगित गर्नु पर्नेसम्मको अवस्थाको विद्यमानता नदेखिँदा यी निवेदकले दर्ता गर्न ल्याएको प्रस्तुत रिट निवेदन दर्ता गर्न नमिल्ने आधार कारण समेत खुलाई यस अदालतका रजिस्ट्रारबाट मिति २०८२/०५/२९ मा भएको दरपिठ आदेश बेरितको नदेखिँदा बदर गर्नु परेन । कानुनबमोजिम गर्नू,’ सर्वाेच्चको आदेशमा भनिएको छ ।
अधिवक्ता मणिराम उपाध्यायले कांग्रेस महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वाेच्चमा निवेदन पेश गरेका थिए । कांग्रेसको आधिकारिकता विवाद र निर्वाचन आयोगको निर्णयका पक्षमा यसअघि भएको फैसलामाथि पुनरवलोकनको माग राखेर पुगेको विवाद विचाराधीन रहेको अवस्थामा महाअधिवेशन रोक्नु पर्ने माग उनको थियो ।




