काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा पक्षले आयोजना गरेको वडा अधिवशेनका क्रमममा एकै पक्षबीच पनि कुटाकुट भएको छ ।
विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो गगन पक्षीय कांग्रेसीकै बीचमा कुटाकुट भएको हो । देशभरका अधिकांश वडामा गगन थापाको सचिवालयले पदाधिकारी तोक्ने गरेको भएपनि विराटनगर–६ मा भने दुई पक्ष बनेर निर्वाचन नै भएको छ ।
नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुटाकुट भएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद भएको थियो । मोरङ प्रहरीले दिएको जानकारी अनुसार दुई पक्षबीच विवाद भएको थियो ।
कुटाकुटपछि प्रहरीले मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर – ६ का इरसाद अहमदलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका उम्मेदवार गगन थापाको सचिवालयले ‘नरुचाएको व्यक्ति’ भएको स्रोतले जानकारी दिएको छ ।
कुटाकुटका कारण मतदान प्रक्रिया केही समय रोकिएको थियो । समयमै प्रहरीले हस्तक्षेप गरेका कारण कुटाकुट भएपनि थप अप्रिय घटना हुनबाट रोकिएको स्रोतले जानकारी दियो ।
वडा अधिवेशनमा सहमति नभएपछि मतदान भएको थियो । वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल भोला प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।




