काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ३१ आलोकनगरमा फालिएको अस्पतालजन्य फोहरमा प्रमाण खोजेर औषधि उत्पादक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
फालिएको फोहरमा २ वटा कम्पनीको नाम लेखिएका कागज पाइएका थिए । यी कम्पनीमध्ये एउटाको ठेगाना भक्तपुर जिल्ला र अर्कोको ठेगाना टोखा नगरपालिकाको धापासीमा छ ।
यी स्थानहरु काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र नपरेकाले महानगर प्रहरी बलले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरमार्फत कारवाही प्रक्रिया अगाडि बढाएको हो ।
प्रहरी बलले फोहर मैला व्यवस्थापन ऐन २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिमको कसुर गर्नेलाई काठमाडौँ महानगरपालिकाको कार्यालयमा उपस्थित गराइदिन अनुरोध गरेको थियो ।
यही अनुरोध पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत सम्पर्कमा आएको कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत झिकाइएको कम्पनीका अधिकारी सम्पर्कमा आइसकेका छैनन् ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र प्रहरी बलको संयुक्त टोलीले अनधिकृत फोहर फाल्नेहरुमाथि कडा निगरानी थालेको छ । यस क्रममा भेटिने व्यक्तिहरुलाई तत्काल जरिवाना गराउने गरिएको छ । यस्तै सडक, किनारा तथा सार्वजनिक स्थलमा फालेको फोहरमा प्रमाण खोजेर जथाभावी फोहर निकाल्नेलाई कारवाही गर्न थालिएको छ ।
प्रारम्भमा कारवाहीमा परेका व्यक्ति तथा संस्थाको नाम सार्वजनिक नगर्ने तर सोही प्रकृतिको कसुर दोहोरिए नाम ठेगाना सार्वजनिक गरिने योजनामा रहेको जोशीको भनाइ छ ।




