नियमित पानी पर्न थालेपछि जोखिमयुक्त स्थान र विद्यालयहरुमा महानगरको निगरानी

 

काठमाडौँ । नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ । 

महानगरका अनुसार सम्भावित बाढी र डुबानबाट बालबालिकालाई जोगाउन, डुवानका कारण भौतिक सम्पत्तिमा हुन सक्ने क्षति कम गराउन निगरानी बढाइएको हो । 

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली थप विकसित हुँदै गएपछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले बर्षा भइरहेको छ । अहिले सामान्य पानी परिरहेको भए पनि यो भारी वर्षाका रुपमा विकसित हुन सक्ने देखिएकोले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाइएको हो । 

जोखिमपूर्ण क्षेत्रमा रहेका विद्यालयको अवस्था समेत मूल्याङ्कन गरी आवश्यक परे विद्यालय सञ्चालन तथा पठनपाठन स्थगन गर्ने अधिकार र जिम्मेवारी शिक्षा विभागलाई दिइएको छ ।

मौसमजन्य विपदको पूर्व तयारी र प्रतिकार्य योजनाका लागि बुधबार महानगर विपद व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले सम्भावित बाढी, डुबान, पहिरो तथा जलजन्य जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य प्रणाली सक्रिय बनाउने, सुरक्षा निकाय, रेडक्रस लगायत निकायसँग समन्वय बढाउने निर्णय गरेको छ । 

बैठकले, भारी वर्षाबाट महानगर क्षेत्रभित्र हुन सक्ने जोखिम न्यूनीकरणका लागि महानगरका सबै संयन्त्र, विभाग, निकाय र वडा कार्यालयलाई पूवतयारी तथा प्रतिकार्यका काम सक्रिय रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ । जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त मौसम सम्बन्धी सूचनाका आधारमा यस्तो निर्णय गरिएको हो । 

सम्भावित जोखिमलाई ध्यानमा राखी महानगरवासीलाई सुरक्षित र सचेत रहन आग्रह गर्दै महानगरका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत नियमित सूचना र सचेतनामूलक सन्देश प्रवाह गरिने भएको छ । साथै वडास्तरीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाई जोखिमयुक्त स्थान पहिचान, प्रतिकार्य तथा सूचना र समन्वयको व्यवस्था मिलाइनेछ ।

नदी किनारका क्षेत्रमा माइकिङ गर्ने, पानी निकास हुने स्थानमा निगरानी बढाउने तथा ढल, मंगाल र क्याचपिट सफाइलाई तीव्रता दिने निर्णयमा उल्लेख छ । यसका लागि नगर प्रहरी बल, वातावरण व्यवस्थापन विभाग र विपद् व्यवस्थापन विभागलाई जिम्मेवारी तोकिएको छ । यो प्रणालीले, वर्षाका समयमा पानीको निकास अवरुद्ध भई सडक तथा बस्तीमा डुबान हुन सक्ने जोखिम घटाउने अपेक्षा गरिएको महानगरको भनाइ छ ।

त्यस्तै, सम्भावित विपदका समयमा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन एम्बुलेन्स तयारी अवस्थामा राख्ने, स्वास्थ्यकमीलाई बिदा वा काजमा नखटाउने तथा स्वास्थ्य स्वयंसेविकामार्फत समुदाय स्तरमा नागरिक सचेतना बढाउने व्यवस्था गरिएको छ । 

विपद प्रतिकार्यका लागि र्‍याफ्टिङ बोर्ड, त्रिपाल, सवारीसाधनलगायत आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ । २ जना नगर प्रहरी उद्धार टोलीलाई तैनाथ गरिएको छ । सम्भावित जोखिमका समयमा नेपाल सरकारका कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य संघसंस्थासँग समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाइएको छ ।

यसैबीच, काठमाडौँ उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रालाई समेत ध्यानमा राखी सम्बन्धित क्षेत्रमा सरसफाइ र पानी निकासको व्यवस्थाको विशेष निगरानी गरिने भएको छ । वर्षाका कारण जात्राका कार्यक्रम तथा सहभागीलाई असहज अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले वातावरण व्यवस्थापन र विपद् व्यवस्थापनसम्बन्धी संयन्त्रलाई सक्रिय बनाइएको छ । 

जोखिमपूर्ण स्थानबाट नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा राख्नुपर्ने अवस्था आए विद्यालय तथा मानव सेवा आश्रमका स्थानलाई ‘होल्डिङ सेन्टर’का रूपमा प्रयोग गर्न आवश्यक तयारी गरिएको छ । 

महानगरपालिकाले विपदमा परेका महानगरवासीलाई राहत उपलब्ध गराउन छुट्टै संयन्त्रसमेत गठन गरेको छ । विपद् व्यवस्थापन कोषबाट न्यायोचित रूपमा राहत सिफारिस गर्न विपद् व्यवस्थापन विषयगत समितिका संयोजकको अध्यक्षतामा सम्बन्धित वडाका वडाध्यक्ष वा तोकिएका वडा सदस्य, नगर प्रहरीका अधिकृतस्तरका कर्मचारी, सहरी योजना आयोगका विपद् विज्ञ तथा विपद् व्यवस्थापन विभागका प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

उक्त संयन्त्रले विपदको अवस्था र क्षतिको प्रकृति हेरी राहत उपलब्ध गराउन नगरस्तरीय विपद् व्यवस्थापन समितिसमक्ष सिफारिस गर्नेछ । यस व्यवस्थाले विपदमा परेका नागरिकलाई तत्काल र आवश्यकताका आधारमा राहत सिफारिस गर्ने संस्थागत आधार तयार गरेको छ ।

भारी वर्षा, डुबान र नदी तथा खोलामा पानीको सतह बढ्ने सम्भावनाका बिच महानगरपालिकाले जोखिमयुक्त क्षेत्रको पहिचान, पूर्व सूचना, उद्धार सामग्रीको तयारी, जनशक्ति परिचालन, सुरक्षित स्थानको व्यवस्थापन र राहत सिफारिससम्मका कामलाई एकीकृत रूपमा अघि बढाएको हो । मौसममा हुने परिवर्तनसँगै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन र जल तथा मौसम विज्ञान विभाग, जिल्ला प्रशासन कार्यालय र महानगरबाट जारी हुने आधिकारिक सूचना तथा पूर्व सूचनामा ध्यान दिन आग्रह गरिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update