८ करोड १५ लाख लागतमा निर्माण हुँदै नन्दीकेशर सत्तलः कार्यवाहक प्रमुख डंगोलबाट शिलान्यास

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सवा ८ करोड लागतमा नन्दीकेशर सत्तल पुनःनिर्माण गराउन थालेको छ । 

२०७२ सालको भूकम्पले जीर्ण भएपछि भत्काइएको सत्तल पुननिर्माणका विषयमा स्थानीय बिच फरक मत भएपछि काम हुन सकेको थिएन । असहमतिसँग सम्बन्धित आवाजलाई प्रशासनिक तथा न्यायिक प्रक्रियाबाट सहमतिमा ल्याएपछि पुनःनिर्माणका लागि महानगरपालिकाकी कार्यवाहक प्रमुख डंगोलले, जग पूजा र शिलान्यास गरेकी हुन् ।

त्यस क्रममा उनले, ढलेका मूर्त सम्पदा उठाउने र हराएका अमूर्त सम्पदा पुनःस्थापना गर्ने कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । 

वडाध्यक्ष भरतलाल श्रेष्ठले भत्किएका सम्पदा बनाउँछौँ भन्दा पनि काम गर्न नपाइएको भन्दै सत्तल पुनःनिर्माणपछि वडाको प्रशासनिक सेवा पनि सोही स्थानबाट प्रवाह गरिने जानकारी दिए ।

भवन निर्माण अवधि २०८५ भदौ ३० गतेसम्म छ ।

आर्किटेक्ट डिजाइनर इरु श्रेष्ठका अनुसार ४४१ दशमलव १४ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने सत्तलको चौडाइ १८ फिटको हुनेछ । सत्तल मौलिक स्वरुप २ तलाको हुनेछ । लम्बाइ दक्षिणतर्फ १४८ फिट र पश्चिमतर्फ १४७ फिटको हुनेछ । हरेक तला ३ हजार ८८१ वर्गफिटका हुनेछन् ।

श्री ५ सुवर्णप्रभा महारानीले साके संवत् १७३० मा निर्माण गराएको सत्तल विसं १९९० र २०२८ सालमा जीर्णोद्धार भएको थियो । २०७२ सालको भूकम्पले भत्किएपछि पुनःनिर्माण गराउने क्रममा स्थानीयबासीका बिचमा भएको मतान्तरका कारण रोकिएको थियो । 

सत्तल पुनःनिर्माणका लागि ११ करोड ९८ लाख २५ हजार ६३५ रुपैयाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट ८ करोड १६ लाख ९१ हजार ७२३ रुपैयाँ निर्माण कम्पनी आरआर– आरजीएससँग सम्झौता भएको छ । 

२०३६ सालमा काठमाडौँ नगर पञ्चायतले बनाएको अभिलेख अनुसार यो सत्तल चारै दिशामा समान रूपले फैलिएको थियो । सत्तलको बिच प्राङ्गणमा एक मन्दिर पनि रहेको छ । सत्तलको दक्षिणतर्फको भागमा नन्दी रात्री विद्यालयले कक्षा सञ्चालन गर्न प्रयोग गरेको छ । 

त्यस बेला घरबारविहीनहरु सत्तलमा आश्रय लिएर बसेका थिए । अभिलेखमा भनिएको थियो, ‘काष्ठकला र प्रस्तरकलाले समृद्ध सत्तल संरक्षणको अभावमा ठाउँ ठाउँको काष्ठकला सहितको काठहरू मक्किएर खेर गैराखेकोले यथाशीघ्र यसतर्फ ध्यान पुर्‍याउनु आवश्यक देखिन्छ । जस्ता र झिँगटीको मिश्रित छाना भएको यस सत्तलको जस्ता प्वाल परेर र झिंगटी फुटेर पानी चुहिने गरेकोले त्यसको प्रतिकुल असर गारोमा परेको छ ।’ यसबाट भन्न सकिन्छ, सत्तल त्यसबेलामा नै तत्काल मर्मत गर्नु पर्ने अवस्थामा थियो । अभिलेखमा ‘सत्तलको पूर्वमा चार तथा दुई धारा, पश्चिममा खाली ठाउँ तथा बाटो, उत्तर र दक्षिण दुवैतर्फ सडक गएको छ ।’ भन्ने उल्लेख छ ।

 

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update