सबै सामुदायिक विद्यालयमा पुगेर खानेपानीको गुणस्तर परीक्षण गर्दै काठमाडौँ महानगरपालिका

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुरक्षित पिउने पानीको सुनिश्चित गर्न सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रमा पिउन प्रयोग हुने पानीको प्रयोगशाला परीक्षण गराउने भएको छ । 

सामुदायिक विद्यालयका बालबालिका, शिक्षक र कर्मचारी, स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा लिन आउने विरामी तथा आफन्त र वडा कार्यालयहरुमा प्रशासनिक सेवा लिन आउने सेवाग्राहीलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न परीक्षण गराउने भएको हो । 

यसका लागि स्वास्थ्य विभागले जनप्रतिनिधि, वडा सचिव विद्यालय नर्स, शिक्षक, महिला स्वास्थ्य स्वयमसेविका, पानीका उत्पादक तथा वितरकसहितका व्यक्तिहरुलाई प्रयोगशाला परीक्षणका लागि नमूना संकलन विधिका विषयमा अभिमुखीकरण थालेको छ ।

महानगरले वडा नं. १ बाट अभिमुखीकरण अभियान सुरु गरेको र सबै वडाका लक्षित व्यक्तिलाई दिइने महानगरपालिकाको स्वास्थ्य विभागका समुदाय, स्वास्थ्य संस्था र विद्यालयहरुमा पानी स्वच्छता कार्यक्रमका फोकल पर्सन राधिका कुइँकेलले जानकारी दिइन् ।

‘तालिम दिइएका व्यक्तिहरुले नमूना संकलन गर्नुहुन्छ । संकलित नमूनाको प्रयोगशाला परीक्षण गराएर प्राप्त नतिजाका आधारमा पानीको गुणस्तर कायम गराउने कार्यक्रम चलाउने लक्ष्यसहित अभिमुखीकरण थालेका हौँ,’ उनले भनिन् ।

अभिमुखीकरण कार्यक्रममा वडा १ का सदस्य रसला तण्डुकारले, जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको तर, ख्याल गर्न नसकिएको विषयलाई उठाउन खोजिएको बताइन् ।

‘यो अति जरुरी कार्यक्रम हो । थालनी भयो । छिट्टै नतिजा पनि दिनुपर्छ,’ उनले भनिन् ।

वडा नं.१ का वडासचिव सर्वज्ञराज पौडेलले ‘हामीले विश्वाश गरेको पानी कति सुरक्षित छ, यो थाहा हुन जरुरी हुने बताए । 

धारा आउने, जार वा अन्य स्रोतबाट ल्याइने पानी पानी देखिँदैमा, सङ्ग्लो हुँदैमा पिउन योग्य छ भन्ने हुँदैन । पानीमा आँखाले नदेखिने जीवाणु तथा स्वास्थ्यलाई असर गर्ने रसायनिक पदार्थ हुनसक्ने भएकाले सुरक्षित खानेपानीका लागि नियमित परीक्षण, निगरानी तथा सुधारको व्यवस्था आवश्यक छ । अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक ऋतु शर्माले, राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ का विषयमा प्रस्तुतिकरण गरेकी थिइन् ।

भौतिक, रसायनिक र जैविक गुणस्तरका आधारमा पानी सुरक्षित भए नभएको निर्धारण हुन्छ । सुरक्षित पानीका लागि ५ प्रकारका भौतिक, १३ प्रकारका रसायनिक र एक प्रकारको जैविक परीक्षण गर्नु पर्ने पारामिटर तोकिएका छन् । जोखिम तथा सान्दर्भिकताका आधारमा थप १–१ भौतिक र जैविक तथा ७ रसायनिक परीक्षण गर्नुपर्छ । 

पानीको गुणस्तर परीक्षण एकपटक गरेर पुग्ने विषय होइन । पानीको भौतिक गुणअन्तर्गत धमिलोपना, हाइड्रोजन आयन साद्रता, रङ, स्वाद तथा गन्धको परीक्षण दैनिक गर्नुपर्ने व्यवस्था हुन्छ । कुल घुलित ठोस पदार्थको परीक्षण त्रैमासिक र विद्युतीय चालकत्वको परीक्षण मासिक गर्नुपर्छ । 

रसायनिक गुणअन्तर्गत क्लोरिन अवशेषको परीक्षण दैनिक तथा अमोनिया, क्लोराइड, नाइट्रेट, कुल कठोरता र क्याल्सियमको परीक्षण मासिक गर्नुपर्छ । फलाम, म्याङ्गानिज, सल्फेट, आर्सेनिक, क्याडमियम, तामा, फ्लोराइड, साइनाइड, सिसा, क्रोमियम, जस्ता, पारा र एल्युमिनियमलगायत पारामिटरको परीक्षण वार्षिक रुपमा गर्नु पर्ने मापदण्डमा उल्लेख छ । सूक्ष्म जैविकतर्फ ईकोलाई र कुल कोलिफर्मको परीक्षण मासिक गर्नुपर्ने व्यवस्था छ  ।

यसको अर्थ पानीको गुणस्तर कायम राख्न दैनिक निगरानी गर्नुपर्ने सूचकदेखि वार्षिक रूपमा परीक्षण गर्नुपर्ने रसायनिक सूचकसम्मको नियमित प्रणाली आवश्यक हुन्छ ।

नमूना संकलन र परीक्षण 

पानीको नमूना सङ्कलन पनि परीक्षणको महत्वपूर्ण पक्ष हो । पाइपबाट पानी वितरण हुने प्रणालीमा सामुदायिक तथा निजी धाराबाट, पानी पोखरी, पानी प्रशोधन केन्द्रका एकाइ र पानीको मुहानबाट नमूना लिन सकिने व्यवस्था छ । ट्याङ्करबाट वितरण हुने पानीका लागि सेवाग्राहीले पानी भर्ने पाइपबाट नमूना सङ्कलन गर्नुपर्छ । 

होटल, उद्योग, अस्पताल, व्यावसायिक तथा आवासीय भवनमा पानी पोखरीबाट निस्कने पाइप वा धाराबाट नमूना लिइनुपर्छ । वर्षाको पानी सङ्कलन गर्ने प्रणालीमा पानी जम्मा भएको घैँटो वा पोखरीबाट नमूना लिनुपर्छ । 

यसले पानीको स्रोत मात्र परीक्षण गरेर उपभोक्ताको धारासम्मको पानी सुरक्षित छ भन्ने निष्कर्ष निकाल्न नहुने देखाउँछ । वितरण प्रणाली, भण्डारण र अन्तिम प्रयोग बिन्दुमा समेत पानीको अवस्था परीक्षण गर्नुपर्ने हुन्छ ।

ईकोलाई किन महत्वपूर्ण ?

पानीको जैविक प्रदुषण पत्ता लगाउन ईकोलाईलाई महत्वपूर्ण सूचकका रूपमा हेरिएको छ । मानव तथा जनावरको दिशामा पाइने यो जीवाणु पानीमा भेटिएमा दिशाजन्य प्रदुषण भएको संकेतका रूपमा बुझिन्छ । त्यसैले यसको परीक्षण तुलनात्मक रूपमा सहज, सस्तो र सर्वत्र उपलब्ध हुने भएकाले पानीको जैविक सुरक्षा मूल्याङ्कनमा प्रयोग गरिन्छ ।

पानी प्रदुषित हुने मुख्य कारण

सहरी क्षेत्रमा पानी प्रदुषणको जोखिम प्राकृतिक कारणसँगै मानवीय गतिविधि र प्रणालीगत कमजोरीबाट पनि उत्पन्न हुनसक्छ । खुला दिशापिसाब, ढल र सेप्टिक ट्याङ्कीबाट हुने चुहावट, पानीको स्रोतमा हुने फोहर तथा जथाभावी फोहर निष्कासन, अव्यवस्थित प्लटिङ, पाइपमा क्षति तथा प्राविधिक त्रुटि पानी प्रदुषणको कारण हुनसक्छ । 

कृषिमा प्रयोग हुने मल तथा रसायन, कलकारखानाबाट निस्कने रसायन, जीर्ण पाइप तथा संरचनाबाट समेत रसायनिक प्रदुषण हुनसक्छ । बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपद्ले समेत पानीको स्रोतमा फोर र रोगजन्य सुक्ष्मजीव पुर्‍याउन सक्छ ।

क्षेत्रगत दायित्व

सुरक्षित खानेपानी सुनिश्चित गर्ने दायित्व पानी वितरण गर्ने निकायमा मात्र सीमित हुँदैन । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड तथा कार्यान्वयन तथा अनुगमन निर्देशिकाअनुसार खानेपानी सेवा उपलब्ध गराउने निकाय तथा संस्था, खानेपानीसँग सम्बन्धित सरकारी निकाय, उपभोक्ता, पानी परीक्षण तथा विश्लेषण गर्ने प्रयोगशाला, स्थानीय तह र खानेपानीसँग प्रत्यक्ष सरोकार राख्ने अन्य निकायको भूमिका रहने व्यवस्था छ ।

सेवा प्रदायकको दायित्व पानीको गुणस्तर मापदण्डअनुकुल कायम राख्ने, आवश्यक परीक्षण तथा निगरानी गर्ने र पानी सुरक्षा प्रणाली कार्यान्वयन गर्ने हो । सेवा प्रदायकले पानी आपूर्ति गर्दा तोकिएको मापदण्ड कायम गर्न आवश्यक विधि निर्धारण गर्ने, नमूना छनोट तथा परीक्षण विधि तय गर्ने र आपूर्ति गरिएको पानी मापदण्डअनुकुल भए नभएको अनुगमन गर्ने प्रक्रिया अपनाउनु हो । 

स्थानीय तहको दायित्व आफ्नो क्षेत्रभित्रका खानेपानी प्रणाली तथा स्रोतको निगरानी, समन्वय, जोखिम पहिचान र आवश्यक सुधारमा सहजीकरण गर्नु हो । पानीको गुणस्तर सम्बन्धी तथ्याङ्कका आधारमा योजना तथा कार्यक्रम बनाउनुपर्ने भएकाले स्थानीय तहका लागि परीक्षणको तथ्याङ्क पनि निर्णय प्रक्रियाको आधार बन्नुपर्छ ।

प्रयोगशालाको दायित्व सङ्कलित नमूनाको वैज्ञानिक विधिबाट परीक्षण तथा विश्लेषण गरी विश्वसनीय परिणाम उपलब्ध गराउनु हो । परीक्षणको नतिजा अभिलेखीकरण र त्यसका आधारमा सुधारात्मक कदम चाल्नु पनि गुणस्तर निगरानीको अभिन्न हिस्सा हो ।

उपभोक्ताका पनि दायित्व छन् । घरमा पानी सुरक्षित रूपमा भण्डारण गर्ने, ट्याङ्की तथा भाँडा नियमित सफा गर्ने, दुषित हुनसक्ने पानीलाई शुद्धीकरण गरेर प्रयोग गर्ने र पानीको गुणस्तरबारे समस्या देखिए सम्बन्धित निकायलाई जानकारी गराउने उपभोक्ताका आधारभूत दायित्व हुन् ।

सुरक्षित पानीका लागि जोखिम पहिचानमै जोड

पानी सुरक्षा योजना सुरक्षित खानेपानीको अर्को महत्वपूर्ण आधार हो । यसमा खानेपानी सुरक्षा टोली गठन, खानेपानी प्रणालीको विश्लेषण, प्रदुषण पहिचान तथा जोखिम विश्लेषण, नियन्त्रणका उपाय निर्धारण, सुधार कार्ययोजना निर्माण तथा कार्यान्वयन, प्रमाणीकरण र नियमित अनुगमनका चरण समेटिन्छन् ।

यसरी पानी दूषित भएपछि मात्र परीक्षण र उपचार गर्नेभन्दा कहाँबाट प्रदुषण हुन सक्छ भनेर पहिले नै पहिचान गरी जोखिम नियन्त्रण गर्ने प्रणालीले दीर्घकालीन रूपमा सुरक्षित पानी उपलब्ध गराउन सहयोग गर्छ ।

घरमा पनि अन्तिम सुरक्षा आवश्यक

सहरी क्षेत्रमा वितरण प्रणालीबाट आएको पानी सुरक्षित भए पनि घरको ट्याङ्की, पाइप वा भण्डारण भाँडाबाट पुनः प्रदुषण हुनसक्ने भएकाले उपभोक्ता तहमा झन सावधानी आवश्यक हुन्छ । सामग्रीअनुसार पिउने पानी उमालेर सफा र छोपिएको भाँडोमा राख्ने, आवश्यक अवस्थामा आधिकारिक निर्देशनअनुसार क्लोरिन वा स्वीकृत शुद्धीकरण विधि प्रयोग गर्ने तथा भण्डारणका भाँडा नियमित सफा गर्नुपर्छ । पानी निकाल्दा दुषित हात वा भाँडाबाट पुनःप्रदुषण हुन नदिन पनि ध्यान दिनुपर्ने हुन्छ ।

यी सबै प्रक्रिया र प्रणालीमा काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्र कुन अवस्थामा छन्रु अभिमुखीकरणपछिको परीक्षणबाट नतिजा प्राप्त हुनेछ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update