काठमाडौँ । सरकारले पुँजी बजारको नियामक धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
यस्तै सरकारले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।
आजको मन्त्रिपरिषद बैठकले गरेको अर्काे निर्णय सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति गर्ने भन्ने हो । सरकारले बचत तथा ऋण सहकारी (नियमन तथा सुपरीवेक्षण) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति गर्ने निर्णय पनि गरेको छ ।
मन्त्री पोखरेलका अनुसार राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको छ ।
यस्तै संघीय संसद् समक्ष सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सहितका प्रतिस्थापन विधेयकहरू पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।





