किस्पाङ गाउँपालिकाका अध्यक्षको ९ करोडभन्दा बढीको बैंकिङ कसुर, नखुलेको कति होला ?

काठमाडौँ । सोमबार सिंहदरबार परिसरबाट नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परे । उनी प्रधानमन्त्री वालेन्द्र शाहसँग छलफल गरेर सिंहदरबारबाट बाहिरिदै थिए । प्रधानमन्त्री शाहले भोटेकोशी वाढीको असरपछिको अवस्थाका बारेमा स्थानीय सरकारका प्रतिनिधिहरुसँग छलफल गरेका थिए ।

अध्यक्ष तामाङ पक्राउ परेपछि यसले ठूलो चर्चा पनि पायो । किन पक्राउ परे ? एमालेबाट अध्यक्षका उम्मेदवार बनी विजयी तामाङमाथि राजनीतिक प्रतिशोध पो साधियो कि भन्ने चर्चा पनि भए ।

तर, यसको तथ्य भने फरक छ । अध्यक्ष तामाङ बैंकिङ कसुरमा पक्राउ परेको प्रहरीले खुलाएको छ । र, उनीमाथि अनुसन्धान सकेर प्रहरीले २०८० सालमा नै मुद्दा दर्ताको लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा मिसिल पेश गरेको पनि खुलेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार अध्यक्ष तामाङमाथि ९ करोड रुपैयाँभन्दा बढीको बैंकिङ कसुरको अभियोग लागेको छ । उनी विरुद्ध १० वटा मुद्दा प्रहरीको दर्ता भएका छन् । यी १० मध्ये एउटा मुद्दा भने ठगी सम्बन्धी हो ।
birbal-tamang-cases-1789455991.jpg
प्रहरीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँमा ३ करोड ४ लाख रुपैयाँ बैंकिङ कसुरको मुद्दा दर्ता भएको छ । यस्तै, काठमाडौँ प्रहरी परिसरमै १ करोड ३ लाख ३० हजार, ४८ लाख र ९५ लाख रुपैयाँ बैंकिङ कसुरका बेग्लाबेग्लै मुद्दा छन् । परिसरमा नै २ करोड ५६ लाखको ठगीको अर्काे मुद्दा पनि दर्ता छ ।

यस्तै, जिल्ला प्रहरी परिसर भक्तपुरमा अध्यक्ष तामाङ विरुद्ध २ लाख रुपैयाँको बैंकिङ कसुरको मुद्दा छ । प्रहरी वृत्त जनसेवामा ७५ लाख रुपैयाँ, प्रहरी वृत्त दरबारमार्गमा ५ लाख २५ हजार रुपैयाँ र प्रहरी वृत्त लैनचौरमा १९ लाख ८० हजार रुपैयाँको अरु मुद्दा छन् । प्रहरी वृत्त महाराजगन्जमा अर्काे मुद्दा भएपनि त्यसको विगो भने खुलेको छैन ।

यी मुद्दामा अध्यक्ष तामाङ विरुद्ध ९ करोड ८ लाख ३५ हजार रुपैयाँ विगोको मुद्दा परेको प्रहरीले जानकारी दिएको छ । 

 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update