‘पेशेवर रिट निवेदक तथा ब्ल्याकमेलरको सेल्टर सिंहदरबार’ शीर्षकको सामग्रीबारे भेषराज लुइटेलको खण्डन

 

काठमाडौँ । पेशेबर रिट निवेदक भेषराज लुइटेलले वडापालिकामा प्रकाशित एक समाचारप्रति आपत्ति जनाउँदै खण्डन प्रकाशन गर्न पठाएका छन् ।

असोज १ गते वडापालिकामा प्रकाशित समाचारप्रति उनको आपत्ति छ । असोज १ गते लुइटेलसँग सम्बन्धित ‘पेशेवर रिट निवेदक तथा ब्ल्याकमेलरको सेल्टर सिंहदरबार’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

सो समाचारका विषयमा लुइटेलले पठाएको खण्डन जस्ताको तस्तैः

वडापालिकामा २०८३ असोज १ गते प्रकाशित उक्त सामग्रीमा मलाई “ब्ल्याकमेलर” भनिएको र व्यवसायिक संस्थासँग रकम मागेको, अरूको नाममा पास बनाई सिंहदरबार प्रवेश गरेको तथा सरकारी अधिकारीको सरुवा– नियुक्तिमा प्रभाव पारेको आरोप लगाइएको छ। यी आरोप तथ्यहीन र प्रमाणविहीन हुन् । मैले कुनै पनि व्यक्ति वा संस्थासँग रकम माग गरेको छैन; कसैले त्यस्तो दाबी गर्छ भने प्रमाण सार्वजनिक गर्न चुनौती दिन्छु। सार्वजनिक सरोकारका विषयमा अदालतमा रिट निवेदन दायर गर्नु र आफ्नो मुद्दामा आफैँ बहस गर्नु संविधान र कानुनले दिएको अधिकार हो । ती निवेदनको औचित्य अदालतले निरूपण गर्छ। न्यायिक प्रक्रियामा रहेका निवेदनलाई “ब्ल्याकमेल” को साधन भनी चित्रण गर्नु विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइमा प्रभाव पार्ने प्रयास हो ।

मेरो विगतसम्बन्धी पुराना घटनाहरू अपूर्ण र सन्दर्भविहीन रूपमा प्रस्तुत गरिएका छन् । उक्त सामग्री प्रकाशित गर्नुअघि मेरो धारणा लिइएको थिएन ।

प्रेस स्वतन्त्रता र आलोचनाको म सम्मान गर्छु, तर प्रमाणविहीन व्यक्तिगत आरोपलाई समाचारका रूपमा प्रस्तुत गर्नु पत्रकार आचारसंहिताविपरीत छ । यस विषयमा मैले सम्पादकसमक्ष लिखित रूपमा प्रमाण र भूल सुधार माग गरेको छु।

वडापालिकाको धारणा

लुइटेलले तत्काल प्रकाशनको लागि भनेर पठाएको खण्डन हामीले जस्ताको तस्तै प्रकाशन गरेका छौं । समाचारप्रति चित्त नबुझेको पक्षले पठाएको खण्डन प्रकाशन गर्ने पत्रकारिताको आधारभूत मान्यता र सिद्धान्तभित्र पर्ने भएकोले यो कार्य हामीले सहजै स्वीकार गरेका हौं ।

यो खण्डन सामग्रीको अन्तिममा सम्बन्धित समाचार भनेर हामीले प्रकाशन गरेका सामग्री के थिए भनेर लिंक राखेका छौं, जसले गर्दा अडियन्सलाई के कस्तो विषय कसरी प्रकाशन प्रशारण गरिएको रहेछ भनेर जानकारी लिन सहज हुनेछ । यो हामी किन गर्दैछौं भने पत्रकारितामा पत्रकार आचारसंहिताको साथमा राष्ट्रिय र अन्तराष्ट्रिय कानुनको पालना गरिन्छ र सबैभन्दा ठूलो ‘न्यायाधीश’ अडियन्स नै हुन्छ । हाम्रा सामग्रीको मूल्यांकन अडियन्सले पनि गरुन् भन्ने उदेश्यले लिंक राख्दैछौं । र, जहाँसम्म उनले ‘लिखित रुपमा प्रमाण र भूल सुधार’ माग गरेका छन्, त्यसमा हाम्रोतर्फबाट भूल नभएकोले सुधार गर्ने भन्ने विषय नै रहेन, प्रमाणको लागि हामी हाम्रा समाचारहरुबाट उनले चाहे जस्तैगरी प्रकाशन प्रशारण गरी सार्वजनिक गर्नेछौं ।

सम्बन्धित समाचार

पेशेवर रिट निवेदक तथा ब्ल्याकमेलरको सेल्टर सिंहदरबार

 

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update