सर्लाही । अनुपस्थित वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन् । सरकारी कागजात किर्ते कसुरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले ५५ वर्षीय अध्यक्ष रायलाई मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार रायलाई मंगलबार करिब ५ बजे बसबरिया–१ स्थित उनकै निवासबाट पक्राउ गरिएको हो ।
के हो विवाद ?
घटना मिति २०८० साल असार १० गतेको गाउँसभासँग जोडिएको छ । उक्त गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको नक्कली हस्ताक्षर खडा गरी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । सभामा उपस्थित नै नभएकी सदस्यको हस्ताक्षर किर्ते गरेर सभा सम्पन्न भएको देखाइएको उजुरीकर्ताको दाबी छ ।
अदालतको अनुमतिपछि पक्राउ
उक्त उजुरीका आधारमा प्रहरीले सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा प्रमाण जुट्दै गएपछि सर्लाही जिल्ला अदालतले गत २०८३ साल असोज १६ गते रायविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो । अदालतको सोही अनुमतिबमोजिम प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अध्यक्ष रायलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए ।



