काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा असार २५ गते दिउसो आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा उपचार भएको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले घाइते नेपालीको उपचारको क्रममा निधन भएको बताए ।
तर, अस्पताल प्रशासनले भने यो समाचार तयार पार्दासम्म उनको स्वास्थ्य अवस्थाका बारेमा औपचारिक जानकारी दिएको छैन । गृहमन्त्री सुधन गुरुङ अस्पतालमै बसेर ‘तत्काल विवरण सार्वजनिक नगर्न’ भनेपछि अस्पताल प्रशासन मौन रहेको स्रोतले जानकारी दिएको छ ।
‘गृहमन्त्रीज्यू अस्पतालमै आएर बस्नुभएको छ । आज बेलुकासम्म उनी मरेको औपचारिक जानकारी दिनु हुदैन भन्नुभएको छ । त्यसैले अस्पताल प्रशासनले औपचारिक रुपमा केही वताउन सकेको छैन,’ स्रोतले भन्यो ।
गृहमन्त्री गुरुङले यो विषय दिनभर किन गोप्य राख्न चाहे भन्ने विषय खुलेकाे छैन ।
२५ गते बेलुका के भनेको थियो सरकारले ?
दिउसो आगो लगाएर आत्महत्याको प्रयास गरेका नेपालीका बारेमा बेलुका प्रधानमन्त्री वालेन्द्र शाह र सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले प्रेस नोट पठाएर जानकारी गराएको थियो ।
सो प्रेसनोटमा ‘सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको’ जानकारी गराइएको थियो ।
प्रेस नोटमा नेपालीको स्वदेश तथा विदेशमा उपचारको लागि सरकारले सबै प्रयास गरिरहेको उल्लेख गरिएको छ । सो प्रेस नोटमा पनि नेपालीको उपचारको विषयमा गृहमन्त्री गुरुङको संलग्नता बारे जानकारी गराइएको छ ।
यस्तो छ असार २५ गते प्रधानमन्त्री र सरकारका प्रवक्ताको सचिवालयले पठाएको प्रेस नोटः
सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ।
उहाँको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ुएम्सु अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो।
उहाँलाई तत्कालै विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गर्नुभएको थियो।
साथै सरकारले उहाँका लागि हवाई उद्धार (एयर एम्बुलेन्स)को व्यवस्था गरेको थियो।
त्यसअघि सरकाले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै ब्यहोर्ने बताएको थियो।
भारतको विमानस्थलबाट नेपालीलाई एम्स अस्पतालसम्म लैजाने सबै बन्दोबस्त समेत गरिएको थियो।
तर, वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहनुभएका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उहाँलाई तत्काल भारत नलग्ने भएको हो।
चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिनुभएको छ।
त्यसैले गृहमन्त्री गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा (स्ट्यान्ड बाइ) गएरातीदेखि निरन्तर खटिरहनु भएको छ।
बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ।
हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्राडा रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली उहाँको जीवन रक्षाका लागि खटिएको छ।
चिकित्सकहरूको टोलीले उहाँको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर विशेष औषधिहरू चलाइरहेको छ।






