गृहमन्त्रीको सम्पत्तिः जग्गा २६० रोपनी‚ ४ करोड ३१ लाख बढी शेयरमा लगानी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङसँग २६० रोपनी भन्दा बढी जग्गा रहेको छ । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणमा गृहमन्त्री गुरुङले उक्त कुरा उल्लेख गरेका छन् । 

गृहमन्त्री गुरुङकै नाममा धनकुटाको कार्कीछापमा १९ रोपनी १५ आना जग्गा रहेको छ । उनले लगानीबाट प्राप्त आयबाट उक्त जग्गा किनेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

त्यसैगरी, उनको पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुरमा ३० कठ्ठा पैत्रिक जग्गा र बाजे रामसल गुरुङको नाममा गोरखामा २२१ रोपनी जग्गा रहेको उल्लेख गरेका छन् ।

यस्तै गृहमन्त्री सुधन गुरुङको विभिन्न कम्पनीमा ४ करोड ३१ लाख रूपैयाँ बढीको शेयरमा लगानी रहेको छ ।  गृहमन्त्री गुरुङले होप होल्डिङस प्रालिमा ३० लाख रूपैयाँको ३० हजार थान शेयर, लगुम प्रिमियम अपार्टमेन्टस प्रालिमा ५७ लाख रूपैयाँको ५७ हजार थान, धितोपत्र बजारमा कारोबार हुने शेयरहरूमा २ करोड ७४ लाख ५६ हजार २ सय रूपैयाँको शेयर र एडभेन्चर भिल्ला प्रालिमा ७० लाख रूपैयाँको ७० हजार थान शेयरमा लगानी गरेका छन् । 

गृहमन्त्री गुरुङ्गले ती सबै लगानीको स्रोत व्यावसाय, पैत्रिक सम्पत्ति र लगानी भनेर उल्लेख गरेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update