
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले गर्भनर शिफारिस समितिको बैठक बोलाएका छन् । समिति गठन भएको २ महिना बित्न लाग्दा सिफारिस समितिका अध्यक्षसमेत रहेका अर्थमन्त्री पौडेलले बैठक बोलाएका हुन् ।
आजै साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकबाटै गभर्नर नियुक्ति गर्न प्रधानमन्त्री केपी ओली र सत्ता साझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति जुटेपछि एकैदिन समितिको बैठक बसेर नियुक्ति गर्न लागिएको हो ।
अर्थमन्त्रीको अध्यक्षतामा गठन हुने समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् प्राडा. पोषनाथ पाण्डे सदस्य छन् । समितिकाे बैठक ४ बजेका लागि बाेालाइएकाे छ ।
दलहरुको सहमति बमोजिम नै सिफारिस समितिले गभर्नरको नाम सिफारिस गरेमा मन्त्रिपरिषद बैठकबाट आजै गभर्नर नियुक्तिको सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका एक सदस्यका अनुसार ओली र देउवाबीच गभर्नर हुने व्यक्तिका विषयमा सहमति जुटेपछि समितिको बैठक बोलाइएको हो ।
समितिले केही दिनअघि सिफारिस समितिबाट राजिनामा दिएका डा. विश्व पौडेल, नेपाल राष्ट्र बैँककी डेपुटी गभर्नर निलम ढुंगानासहित ३ जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ ।
यो तयारी दलका शीर्ष नेताको निर्देशन अनुसार भएको सचिवालयको दाबी छ । समितिको सिफारिस पछि डा. पौडेललाई १८औँ गभर्नरमा नियुक्ति गर्ने सरकारको तयारी छ ।
पौडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा एउटा रिट पुगेको छ । जसलाई दर्ता गर्ने कि नगर्ने भन्ने छिनोफानोसमेत आजै हुँदैछ ।