Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहहरूलाई सामाजिक सुरक्षा कोषको पत्र, सबै कर्मचारीलाई कोषमा आवद्ध गराउनू

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले देशभरका सबै स्थानीय तहहरुलाई पत्राचार गरी पालिकाका कर्मचारीहरुलाई कोषमा आवद्ध गराउन अनुरोध गरेको छ ।

कोषका निर्देशक उत्तम नेपालले हस्ताक्षर गरेर जेठ १६ गते सबै स्थानीय तहहरुलाई पत्राचार गरिएको हो । पत्रमा गत बैशाख १ गते नेपाल सरकारले प्रकाशन गरेको राजपत्र उल्लेख गरिएको छ । 

सरकारले गत बैशाख १ गते प्रकाशन गरेको राजपत्रमा प्रदेश संचित कोष र स्थानीय संचित कोषबाट पारिश्रमिक पाउने व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने भनिएको छ । तर, प्रचलित कानुन अनुसार निवृत्तभरण पाउने व्यक्तिहरुलाई भने कोषमा आवद्ध गराउनु पर्दैन ।

ssf-palika-1748947644.jpg
संघीय सरकारले प्रदेश र स्थानीय संचित कोषबाट पारिश्रमिक पाउने व्यक्तिलाई उसले खाइपाइ आएको तलबको ६० प्रतिशतलाई आधारभूत पारिश्रमिक मानेर सो रकमको २० प्रतिशत रोजगारदाता अर्थात प्रदेश सरकार र स्थानीय सरकारहरुले दिनुपर्ने र ११ प्रतिशत सम्बन्धित कर्मचारीको पारिश्रमिकबाट कट्टा गरेर कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो ।

‘... नेपाल राजपत्रमा उल्लेख गरे बमोजिमका तहाँ अन्तर्गतका सम्पूर्ण कर्मचारीहरुलाई कोषमा आवद्ध गराउनु हुनका लागि अनुरोध गरिन्छ,’ कोषका निर्देशक नेपालले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update