
काठमाडौं । सरकारले नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गर्न पत्राचार गरेको छ । तर, निष्क्रिय गर्न खोजिएका कम्पनीहरूले आन्तरिक राजस्व विभागअन्तर्गत ठूला करदाता कार्यालयमा दर्ता भएर कर तिरिरहेका छन् ।
गएका तीन वर्षमा विभिन्न २० अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर सिस्टममा दर्ता भएका छन् । यी २० वटा कम्पनीमा हाल सरकारले निष्क्रिय गर्न लागेका सामाजिक सञ्जाल मेटा, लिंक्डेइनलगायत छन् । यी २० कम्पनीले नेपालमा गत आर्थिक वर्ष २०८१/८२ मा ५० करोडभन्दा बढी कर तिरेको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहालले बताए ।
कर कार्यालयमा मेटा प्लेटफम्र्स आयरल्यान्ड लिमिटेड, लिंक्डइन सिंगापुर प्रा. लि., टिकटक प्रा. लि., गुगल एसिया प्यासिफिक प्रा. लि., ईबीएससीओ इन्टरनेसनल इन्क, एन.सी.एस. पियर्सन इन्क., माइक्रोसफ्ट रिजनल सेल्स प्रा. लि. र अमेजन वेब सर्भिसेज इन्क दर्ता छन् ।
यसका साथै अमेजन डटकम सर्भिसेज एल.एल.सी., गुगल आयरल्यान्ड लिमिटेड, एडोब सिस्टम्स सफ्टवेयर आयरल्यान्ड लिमिटेड, नेटफ्लिक्स प्रा. लि., प्रमेट्रिक जापान कम्पनी लिमिटेड, जोहो कर्पोरेशन प्रा. लि., एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए), पियर्सन एजुकेसन लिमिटेड, एप्पल डिस्ट्रीब्युसन इन्टरनेशनल लिमिटेड, गुगल डिजिटल इन्क., एप्पल सर्भिस प्रा. लि. र फ्ल्यास टपअप एल.एल.सी. कर कार्यालयमा दर्ता भएर कर तिरिरहेका छन् ।
यी कम्पनी दर्ताका लागि कार्यालयले छुट्टै अनलाइन प्लेटफर्म बनाएको छ । आवश्यक विवरण राखेर नेपालमा कारोबार गर्न दर्ता हुन सक्नेछन् । उनीहरूले आफ्नो केन्द्रीय कार्यालयबाट नै अनलाइन प्लेटफर्मबाट कर तिर्न सक्ने व्यवस्था गरिएको छ ।
सरकारी निकायमा दर्ता भएर कर तिर्नेलाई अर्काे निकायले पुनः दर्ता हुन आउन भनेपछि केही आशंक पनि उब्जिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको निर्णयअनुसार दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय राख्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाइसकेको छ । प्रधिकरणले पनि इन्टरनेट सेवा प्रदायकहरूलाई सरकारको निर्णयसहितको पत्र पठाइसकेको छ ।
उता, मेटाले भने दर्ताका लागि आवश्यक कागजात इमेलमार्फत माग गरेको बताइएको छ । तर, यसलाई नै आधिकारिक मान्न नसकिने मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुर बताउँछन् । दर्ता हुनका लागि प्रक्रिया अगाडि बढाएकै दिन फेसबुक तथा युटुब लगायतका सामाजिक सञ्जाल सक्रिय गर्ने ठाकुरले बताए । “जो सूचीकरण प्रक्रियामा आएका छन्, त्यसलाई खुला राख्ने र जो प्रक्रियामा आएको छैन त्यसलाई निष्कियमा राख्ने निर्णय भएको छ,” ठाकुरले भने, “पाँच वटा सूचीकरण भएका छन्, बाँकीलाई निष्क्रिय गर्ने र सूचीकरणको प्रक्रियामा आएपछि सक्रिय बनाइनेछ ।”
ठाकुरका अनुसार भाइबर, टिकटक, वीटक, निम्बस र पोपोेलाइभ सूचीकरण भएका छन् । टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा रहेका छन् ।