
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले २४ वटा सौर्य ऊर्जासम्बन्धी आयोजनासँगको विद्युत खरिद सम्झौता (पीपीए) स्वीकृत गरेको छ।
प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले ३५५ मेगावाटका आयोजनाहरुसँगको पीपीएलाई अन्तिम स्वीकृति प्रदान गरेका हुन्।
कुलमान घिसिङका पालामा नै यो प्रक्रिया अन्तिम चरणमा पुगिसकेको भए पनि यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रोकेर राखेका थिए। उनले एउटा व्यवसायीका ८ वटा आयोजनासँगको पीपीए मात्र स्वीकृत गरेर बाँकी बिनाकारण रोकेर राखेको आरोप थियो।
तत्कालीन ऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यबीच कुरा नमिल्दा पनि यो प्रक्रिया अड्किएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ।
पीपीए स्वीकृत भएसँगै अब वित्तीय व्यवस्थापन गरी आयोजना निर्माणमा जान बाटो खुलेको छ।
प्राधिकरणको विद्युत व्यापार विभागले विभिन्न सबस्टेसनका लागि आयोजनाहरुको क्षमता तोकेर मूल्यमा प्रतिस्पर्धा गराएको थियो। प्रतिस्पर्धाका लागि आधार दर प्रतियुनिट ५ रुपैयाँ ९४ पैसा निर्धारण गरी त्योभन्दा कम मूल्य प्रस्ताव गर्न विभागले आह्वान गरेको थियो।
सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने आयोजनाहरुसँग विद्युत खरिद सम्झौता गरिएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ।
ऊर्जामन्त्रीमा कुलमान नियुक्त हुनासाथ सरकारले हितेन्द्रलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा विशिष्ट श्रेणीको सुविधा पाउने गरी विज्ञ सदस्यमा नियुक्त गरी प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको हो। असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।