Odapalika - The Fourth Estate - चौथो अंग
२३ अर्ब २२ करोडबराबरको बिमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी

काठमाडौं । गएको भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म २३ अर्ब २२ करोड ७८ लाख रुपैयाँबराबरको बिमा दाबी गरिएको छ । नेपाल बिमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार, निर्जीवन बिमा कम्पनीहरूले एक अर्ब ५८ करोड ५६ लाखबराबरको भुक्तानी गरिसकेका छन् ।

बिमाबापतको रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले देखाएको सक्रियताका कारण धमाधम अग्रिम रूपमा भुक्तानी गरिएको जनाइएको छ । हालसम्म कुल तीन हजार ९९ बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

कुल दाबीमध्ये सम्पत्ति बिमा ६५३, मोटर बिमा दुई हजार २०६, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा १९०, परिवहन बिमा १२ र अरू बिमा ३८ छन् ।

यस्तै, कोसी प्रदेशमा ३९६, मधेसमा ३५५, वाग्मतीमा एक हजार ६६९, गण्डकीमा २१२, लुम्बिनीमा २४६, कर्णालीमा २२ र सुदूरपश्चिम प्रदेशमा १९९ बिमा दाबीको आवेदन परेको छ । यो विवरण यही असोज २३ गतेसम्मको भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सर्वाधिक बढी अर्थात् पाँच अर्ब ६१ करोड ४४ लाख रुपैयाँबराबरको बिमा दाबीको आवेदन परेको छ । उक्त कम्पनीले ५९ करोड ४४ लाखबराबरको रकम बीमितलाई भुक्तानी गरेको छ ।

यस्तै, दी ओरियन्टल इन्स्योरेन्समा पाँच अर्ब २४ करोड ४७ लाखबराबरको बिमा दाबीको आवेदन परेको छ । उक्त कम्पनीले पाँच लाख ७० हजारबराबरको रकम भुक्तानी गरेको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा दुई अर्ब ७५ करोड ९७ लाखबराबरको बिमा दाबीको आवेदन परेको छ । उक्त कम्पनीले ३० करोड ४३ लाखबराबरको रकम बीमितलाई वितरण गरेको छ ।

शिखर इन्स्योरेन्समा दुई अर्ब ४० करोड ८६ लाखबराबरको बिमा दाबी भएको छ । उक्त कम्पनीले ३१ करोड ९४ लाखबराबरको रकम उपलब्ध गराएको छ ।

मुलुकभर हाल कुल माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको आगजनी र तोडफोडमा परेका सरकारी र सार्वजनिक सम्पत्तिको भने बिमा नभएको पाइएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update