
काठमाडौँ । बजार अनुगमनको क्रममा अजिरकोट गाउँपालिकाले करिव पाँच गाडी मदिरा नियन्त्रणमा लिएको छ । चनौटे, झ्याल्लाफाँट, ढोडेनी र बालुवा बजारका बिभिन्न पसलबाट गुणस्तरहीन र कमसल खालका मदिरा नियन्त्रणमा लिइएको पालिकाले जनाएको छ ।
‘पालिकाबासीको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै हामीले नीति तथा कार्यक्रममै समावेश गरेर गुणस्तरहीन र कमसल खालका मदिरा नबेच्न यसअघि नै व्यवसायीलाई भनेका थियौँ,’ पालिका अध्यक्ष दिपक देवकोटाले भने, ‘पत्राचारमार्फत बिभिन्न समयमा सचेत पनि गराउँदै आएका थियौँ, तर व्यवसायीहरुले अटेर गरेर त्यस्ता खालका मदिरा बिक्री वितरण गरेको पाइएपछि नियन्त्रणमा लिएका हौँ ।’
नियन्त्रणमा लिइएका मदिरा पालिकामा राखिएको उनले बताए । सरोकारवालाहरुको उपस्थितिमा उक्त मदिरा नष्ट गरिने उनले जानकारी दिए ।
यता व्यवसायीहरुले भने असन्तुष्टी जनाएका छन् । कर तिरेर नियमसंगत रुपमा मदिरा बिक्री वितरण गरेपनि पालिकाले हस्ताक्षेप गरेको उनीहरुको गुनासो छ । आफूहरुमाथि अन्याय भएको भन्दै उनीहरुले गोरखा उद्योग वाणिज्य संघको साथ मागेका छन् ।
‘मौखिक रुपमा हामीलाई व्यवसायीहरुले गुनासो राख्नुभएको छ,’ उवासंघका अध्यक्ष भगवानबाबु मास्केले भने, ‘पालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई फोन गर्दा रेस्पोन्स गर्नुभएन ।’
अनुगमनको नाममा छापामार शैलीमा उक्त मदिरा नियन्त्रणमा लिनु उचित नभएको उनले बताए । संघीय सरकारकै नीति अनुसार अन्तःशुल्क ट्याग लगाएर भ्याट समेत तिरेर बिक्री वितरण गरेको कुरा अवैध नहुने उनले तर्क गरे ।
भने, ‘अन्तःशुल्क तिरेपछि व्यवसायिक प्रयोजनका लागि बेच्न पाउनुपर्छ भन्ने हो तर स्थानीय सरकारको नियम अनुसार नपाउने हो भने नियन्त्रणमा लिइएका मदिरा व्यवसायीलाई फिर्ता गर्नुपर्छ र उनीहरुले किनेको ठाउँमा त्यो फिर्ता गर्छन् ।’ उक्त मदिरा नष्ट गर्दा व्यवसायीहरु मर्कामा पर्ने उनको भनाइ छ ।
तर पालिकाले भने पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरेकाले मदिरा बरामद गरिएको जनाएको छ । ‘स्थानीय जनताको स्वास्थ्य संवेदनशिलताप्रति हाम्रो ध्यानाकर्षण हुन्छ, पटक पटक आग्रह गर्दा सेचत गराउँदा पनि नमानेपछि मदिरा नियन्त्रणमा लिएका हौँ,’ पालिका अध्यक्ष देवकोटाले भने । कर तिर्दैमा पालिकाबासीको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउने खालका गुणस्तरहीन मदिरा बिक्री गर्न नपाउने उनले जिकिर गरे ।
‘हामीले ब्राण्डेड खालका नभई प्लाष्टिकभित्र पोको पारिएका बटारे, करुवाजस्ता कमसल खालका मदिरा मात्र नियन्त्रणमा लिएका हाँै,’ उनले भने । अनुगमनको क्रममा म्याद नाघेका पेय पदार्थ, सस, ससेज लगायतका खाद्य बस्तुपनि बरामद गरिएको उनले जानकारी दिए ।