काठमाडौं - नेपाल बिद्युत प्राधिकरणले बक्यौता रकम तिर्न नआउने उद्योगमा जति बेला पनि लाइन काटिन सक्ने चेतावनी दिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता बापतको किस्ता तिर्न नआउने उद्योगहरूमा जुनसुकै बेलामा पनि लाइन काट्न सक्ने बताएका हुन् । सिलवालका अनुसार हाल सम्म १३ वटा उद्योगले किस्ता बुझाएका छन् ।
बक्यौता तिर्न चाहने उद्योगीहरूका लागि प्राधिकरणले २८ महिनाको किस्ताबन्दी सुविधा दिएको छ । यो सुविधा प्रयोग गरेर शुक्रवार सम्म सम्म हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख ४३ हजार र अशोक स्टीलले ६३ लाख रुपैयाँ बुझाएको छ ।
त्यसै गरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको १७ लाख ७० हजार रुपैयाँ एकै पटक बुझाएको छ । सम्राट सिमेन्टले तीन किस्ता बापतको ४० लाख ४७ हजार, नवनेपाल प्लाष्टिक उद्योगले १ लाख २३ हजार र शुभ श्री अग्नि सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ किस्ता तिरेको छ ।







