काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन् ।
पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर निर्देशन दिएकी हुन् ।
कुनै समय गौरव गर्न लायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै उनले निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोररूपमा लाग्न पनि निर्देशन दिइन् ।
उनले अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदनहरू/सुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्नेमा जोड दिइन् । प्रधानमन्त्री कार्कीले कतैबाट आउने अनुचित र गैरकानुनी दबाब नसुन्न पनि सुझाव दिइन् ।
उनले निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठूलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाइन् । कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए ।






                    
                    