Odapalika - The Fourth Estate - चौथो अंग
शंकास्पद रुपमा चाँदी बिक्री गर्दै हिमालयन बुलियन कम्पनी, वेबसाइटमै राख्यो झुटा विवरण

काठमाडौँ । हिमालयन बुलियन कम्पनीले शंकास्पद किसिमले चाँदीको विक्री गर्ने गरेको पाइएको छ । कम्पनीले वेबसाइट बनाएर चाँदीको मूल्य तोकी सर्वसाधारणलाई लगानीको प्रस्ताव पनि गरेको छ ।   

कम्पनीले विक्रीको लागि अपनाएको प्रक्रिया कमोडिटी मार्केटको जस्तै छ । तर अहिलेसम्म कमोडिटी माकेटलाई नेपालमा बैधता दिइएको छैन ।

हिमालयन बुलियनले वेबसाइटमा राखेको मोबाइल नम्बरमा फोन सम्पर्क गर्दा कम्पनीका प्रतिनिधिले लगानीको लागि अपनाउने प्रक्रियाबारे जानकारी गराउँछन् ।

‘तपाईंले कति चाँदी किन्न चाहनु भएको हो, त्यसको बुकिङ गर्नुपर्ने हुन्छ । बुकिङ गर्दा ५० प्रतिशत रकम भुक्तानी गर्नुपर्छ । त्यसपछि हामी चाँदीको व्यवस्था गर्छाैं । तपाईंले बुकिङ गरेको चाँदी १५ दिनभित्रमा भुक्तानी गरेर लिनु भएन भने त्यसमा ब्याज लाग्छ,’ कम्पनीका प्रतिनिधिले वडापालिकासँग भने ।

कम्पनीका प्रतिनिधिले दिएको जानकारी अनुसार बुकिङ गर्ने भनेको कमोडिटी मार्केटको कन्ट्रयाक्ट जस्तै हो । कमोडिटी मार्केटमा पनि यस्तै कन्ट्रयाक्ट हुन्छ । फरक के छ भने कमोडिटी मार्केटमा कन्ट्रयाक्ट गरिएको बस्तु खरिद गर्न अनिवार्य हुँदैन । तर, हिमालयन बुलियनले चाँदी नै लिनुपर्ने भनेको छ ।

हिमालयन बुलियन कम्पनीका प्रमुख कार्यकारी अधिकृत विकास श्रेष्ठ आयातित चाँदीको स्वरुप परिवर्तन गरेर विक्री गर्ने गरिएको बताए । अहिले लगानीका क्षेत्र कमजोर हुँदै गएकोले नेपालीलाई चाँदीमा लगानीको अवसर दिइएको उनको भनाइ छ ।

कम्पनीका अनुसार चाँदी किन्ने व्यक्तिले बैंकमार्फत भुक्तानी गर्नुपर्छ । प्यान नम्बर अनिवार्य हुन्छ । चाँदी किन्ने व्यक्तिको केवाईसी प्राप्त गरेपछि मात्रै कम्पनीले विक्री गर्छ ।

कम्पनीले दिएको जानकारी अनुसार खरिद प्रक्रिया कमोडिटी मार्केटको जस्तै छ । कम्पनीले सन २००० देखि नै चाँदी आयात गरी होलसेलमा विक्री गर्ने गरेको र गत तिहारदेखि खुद्रा विक्री पनि गरेर सर्वसाधारणलाई लगानीको अवसर दिएको कम्पनीको भनाइ छ ।

‘पहिला हामीले आयात गरेर होलसेलमा मात्रै विक्री गर्ने गरेका थियौं । गत तिहारदेखि उपभोक्तालाई पनि विक्री गर्न थालिएको हो,’ सिइओ श्रेष्ठले भने ।

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले कमोडिटी मार्केट संचालनको अनुमति दिएको छैन । 

‘कमोडिटी मार्केट संचालनको अनुमति धितोपत्र बोर्डले कसैलाई पनि दिएको छैन,’ बोर्डका सहप्रवक्ता तोलाकान्त न्यौपानेले वडापालिकासँग भने ।

वेबसाइटमा झुटो विवरण

कम्पनीले आफ्नो वेबसाइटमा चाँदी विक्रीको झुटो विवरण समावेश गरेको छ । वेबसाइटमा नै कम्पनीले आफूलाई नेपाल उद्योग परिसंघ (सिएनआई) र नेपाल सुनचाँदी व्यवसायी महासंघबाट ‘मान्यता प्राप्त’ भनेर उल्लेख गरेको छ । 

कम्पनीले आफ्नो वेबसाइटमा ‘एक्रिडिटेड बाइ’ भनेर सिएनआई र नेपाल सुनचादी व्यवसायी महासंघको नाम र लोगो नै राखेको छ । तर, सिएनआई कुनै पनि कम्पनीलाई मान्यता दिने नदिने निकाय होइन । यस्तै, नेपाल सुनचादी व्यवसायी महासंघ पनि कुनै पनि कम्पनीलाई चाँदी विक्री गर्नको लागि मान्यता दिने वा नदिने निकाय होइन । 

सिएनआई स्रोतले दिएको जानकारी अनुसार सो कम्पनी सिएनआईको सदस्य पनि होइन । यद्यपि, नेपाल सुनचादी व्यवसायी महासंघको भने सदस्य हो ।

‘पहिला अर्कै नामको कम्पनी थियो, अहिले नाम परिवर्तन गरेर हिमालयन बुलियन कम्पनी राखिएको छ । यो कम्पनी हाम्रो एसोसिएट सदस्य हो,’ सुनचाँदी व्यवसायी महासंघ स्रोतले वडापालिकासँग भन्यो ।

सुनचादी व्यवसायी महासंघ र सिएनआईबाट मान्यताप्राप्त कम्पनी भनेर वेबसाइटमा किन राख्नु भएको भन्ने प्रश्नमा हिमालयन बुलियन कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भुलवस त्यस्तो परेको बताए ।

‘हाम्रो वेबसाइट निर्माणको प्रक्रियामा छ । बनाइसकिएको छैन, एसोसिएटेड लेख्नुपर्नेमा भुलबस एक्रिडिटेड बाइ (आवद्ध लेख्नुपर्नेमा मान्यताप्राप्त) लेखिएछ, यो सच्याउँछौं,’ उनले भने ।

सो कम्पनीले गैरकानुनी कारोबारबाट राजस्व छलि र सम्पत्ति शुद्धीकरण गरेको हुन सक्ने देखिएको छ । कम्पनीका प्रतिनिधिहरुले सो कम्पनी पब्लिक कम्पनी भएको जानकारी दिए । तर, कम्पनका सेयरधनी को–को हुन भन्ने वेबसाइटमा कतै उल्लेख गरिएको छैन ।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update