पहिलेदेखि नै थियो मेयर डा. यादवको आतंक, आज अफिसमै कुटे ५० वर्षीय कार्यालय सहयोगी

काठमाडौँ । सिरहा जिल्लाको सिरहा नगरपालिकाका मेयर डा. नवीनकुमार यादवले एक कर्मचारीलाई कुटपिट गरेका छन् ।

नगरपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई मेयर डा. यादवले कुटपिट गरेका हुन् ।

आज बिहान ९ बजे लेखा शाखामा हाजिरी गर्न रजिस्टार पल्टाउँदै गर्दा मेयर डा. यादव अचानक आएर गालीगलौज गर्दै लात र मुक्काले कुटपिट गरेको रामशरणले बताए । उनी नगरपालिकाको स्वास्थ्य शाखामा २४ वर्षदेखि काजमा कार्यरत छन् ।

‘आजदेखि कार्यालय समय विहान ९ बजेदेखि थियो, उहाँ ९ बजेतिर हाजिरी गर्न रजिष्टार पल्टाउँदै हुनुहुदो रहेछ । पहिला नै हाजिरी गरिसक्नु पर्नेमा किन यतिबेला गरेको भन्दै मेयरसाबले कुटपिट गर्नुभएछ,’ नगरपालिकाका एक कर्मचारीले वडापालिकासँग भने ।

उनी अहिले सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेका छन् । 

मेयरले कर्मचारी कुटेपछि सो नगरपालिकाका कर्मचारीहरुले विरोध गरेका छन् । कार्यालयमा काम गर्ने वातावरण नभएको र शान्ति सुरक्षामा गम्भीर असर परेको भन्दै कर्मचारीले विज्ञप्ति नै जारी गरेका छन् ।

कर्मचारीहरुले ३ बुँदे मागहरु पनि सार्वजनिक गरेका छन् । घाइते कर्मचारीको निःशुल्क उपचार गरी क्षतिपूर्ति दिनुपर्ने, कर्मचारीमाथि हातपात गर्ने मेयरमाथि कानुनी कारवाही हुनुपर्ने र कार्यस्थलमा कर्मचारीको शान्ति सुरक्षा हुनुपर्ने तथा आत्मसम्मानपूर्वक काम गर्ने वातावरण सुनिश्चित गरिनु पर्ने कर्मचारीहरुको माग छ । 

कर्मचारीले यो मागको वोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदबार, संघी मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सिरहा प्रहरी कार्यालयलाई दिइएको छ । माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रने कर्मचारीहरुको भनाइ छ ।

मेयरको कुटपिटबाट घाइते भएका कर्मचारीलाई अन्य कर्मचारीले पैसा उठाएर अस्पतालमा उपचार गराइरहेका छन् ।

यस विषयमा जानकारी लिनको लागि मेयर डा. यादवसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update