काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर किशोरी प्रसाद यादव र उनकी पत्नी निर्मला कुमारीविरुद्ध मुद्दा दायर गरेको छ ।
गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले यादव दम्पतीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।आयोगका अनुसार यादवको २०४७ असार ३१ गतेदेखि २०८० पुस २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी गरिएको अनुसन्धानमा वैधानिक आम्दानीभन्दा बढी खर्च तथा लगानी गरेको देखिएको छ ।
सो अवधिमा पारिश्रमिक, भत्ता, घरजग्गा बिक्री, ऋण, ब्याज, कृषि तथा परिवारका सदस्यहरूको आम्दानीसमेत गरी जम्मा ३ करोड ४६ लाख २१ हजार ४०१ रूपैयाँ ९ पैसा आम्दानी गरेको देखिएको छ ।
तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर तथा सवारी साधन खरिद, अध्ययन खर्च, ऋण भुक्तानी, विद्युतीय सामग्री, आन्तरिक सजावट र बैंक मौज्दातसमेत गरी ४ करोड ९३ लाख २ हजार ६२६ रूपैयाँ ९९ पैसा खर्च भएको देखिएको आयोगले जनाएको छ ।
यसरी कूल आयभन्दा १ करोड ४६ लाख ८१ हजार २२५ रूपैयाँ ९० पैसा बढी खर्च देखिएकाले उक्त रकमको स्रोत नखुलेको निष्कर्ष निकालिएको हो ।






