काठमाडौं- बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष शालीग्राम सिंह र तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार (चैत २२) मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध आर्थिक वर्ष २०७६/७७ मा दुई थान बायो घुम्ती शौचालय खरिद गर्दा सरकारी रकम हिनामिना गरेको अभियोग लगाइएको छ । सार्वजनिक खरिद ऐनअनुसार, प्रतिस्पर्धा नै नगराई बायो घुम्ती शौचालय खरिद गरेको दाबी अख्तियारले गरेको छ ।
अभियोगपत्र अनुसार, भारतको टोटल बिजनेस सेफ्टी एन्ड सेक्युरिटी सोलुसन्सबाट ३३ लाख ५० हजार ९४६ रूपैयाँमा खरिद गर्न सकिने शौचालयलाई अस्वाभाविक मूल्य बढाएर ५५ लाख २ हजार ८५४ रूपैयाँ पुर्याइएको दाबी गरिएको छ । ईशिता ट्रेडर्ससँगको मिलेमतोमा अस्वाभाविक मूल्य बढाइएको दाबी अख्तियारको छ ।
परिषद्का तत्कालीन अध्यक्ष सिंह, तत्कालीन कार्यकारी निर्देशक ठाकुर, तत्कालीन प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुंगाना, तत्कालीन लेखापाल सावित्रीकुमारी गिरी, खरिदार मदनकुमार चौधरी सुडी र ईशिता ट्रेडर्सका प्रोप्राइटर पशुपति नाथलाई भ्रष्टाचारमा प्रतिबादी कायम गरिएको छ ।
साथै, अख्तियारले ५० थान पोर्टेबल शौचालय खरिदमा झण्डै ५५ लाख रूपैयाँ अनियमितता गरेको अर्को अभियोगमा सिंहसहित पाँचजनाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । अभियोग दाबीअनुसार, करिब ४२ लाख १६ हजार ५०० रूपैयाँमा उपलब्ध हुने सामानलाई अस्वाभाविक रूपमा वृद्धि गरी ५४ लाख ९९ हजार ९९९ रूपैयाँमा सोझै खरिद सम्झौता गरिएको थियो ।







