रूपन्देही । लामो समयदेखि परेको खडेरीका कारण जमिनमुनिको पानीको सतह घट्न गई खानेपानी आपूर्तिमा गम्भीर समस्या उत्पन्न भएपछि देवदह नगरपालिकाले बोरिङ सञ्चालन र खानेपानी संरक्षण सम्बन्धी अत्यन्त जरुरी अपिल जारी गरेको छ।
नगर कार्यपालिकाको कार्यालय, केरवानीले एक सूचना जारी गर्दै खडेरीका कारण किसानहरूले परिश्रम गरेर हुर्काएको बालीनाली सुक्दै गएको प्रति संवेदनशीलता प्रकट गरेको छ। यद्यपि, वर्तमान संकटपूर्ण अवस्थामा ूपहिले जीवन, अनि मात्र खेतीू भन्ने कटु यथार्थलाई आत्मसाथ गर्नुपर्ने बाध्यता आइलागेको भन्दै नगरपालिकाले वर्षा नभएसम्मका लागि कडा कदम चाल्ने निर्णय गरेको छ।
पिउने पानीको अभाव हुन नदिनका लागि नगरपालिकाले नगरवासी तथा कृषक दाजुभाइहरूमा उपलब्ध जलस्रोतलाई पहिलो प्राथमिकताका साथ केवल खानेपानी प्रयोजनका लागि मात्र सुरक्षित राख्न अपिल गरेको छ ।
घरायसी कामकाजमा पानीको थोपाररथोपाको महत्त्व बुझी किफायती प्रयोग गर्न र पानीलाई खेर जान नदिन देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले अनुरोध गरेका छन ।
नगरपालिकाले यस संकटको घडीमा सम्पूर्ण नगरवासीहरूलाई जिम्मेवार बन्न र खानेपानीको संरक्षणमा सहयोग गर्न अनुरोध गरेको छ।





