भक्तपुर । अफिस टाइममा भक्तपुरको कौशलटारतिरबाट कोटेश्वर हुँदै काठमाडौँ जाने गर्नुभएको छ भने एउटा कुरा पक्कै याद गर्नुभएको होला– काठमाडौँ जानेतर्फको सडकलेन पुरै जाम हुन्छ, भक्तपुरतिर आउने सडकलेन करिब खाली हुन्छ ।
अफिस छुटेर बेलुका काठमाडौँबाट भक्तपुर आउनु भयो भने कोटेश्वरदेखि गठ्ठाघरसम्मको सडकलेन व्यस्त हुन्छ र भक्तपुरबाट काठमाडौँतर्फ जाने सडकलेन करिब खाली हुन्छ ।
यस्तो किन हुन्छ भने संसद, मन्त्रालय, आयोग, अदालत, विभाग, संस्थान, अस्पताल, समिति, प्रतिष्ठान जस्ता धेरै पदाधिकारी, कर्मचारी र सेवाग्राही जम्मा हुने निकायहरु काठमाडौँ जिल्लामा छन् । त्यति मात्रै होइन, निजी क्षेत्रका कर्पोरेट हाउस, सोरुम, बैंक, बीमा, टेलिकम, सहकारी, कलेज, स्कुल, व्यायमघर, स्विमिङ पुल, खेलमैदान, रेडिमेड तथा किराना पसल, वर्कशप, क्याफे, चिया पसल, मिडिया, खाजा पसल, मेडिकल, अडिट फर्म, एनजीओ, आइएनजीओ, लयर्स फर्म जस्ता निकायहरु पनि काठमाडौँ जिल्लामा नै धेरै छन् । यस्ता निकायमा सेवा दिने र सेवा लिनेहरु काठमाडौं पुग्नुपर्ने वाध्यताको कारण विहान भक्तपुरबाट काठमाडौँ जानेहरु धेरै हुन्छन् भने बेलुका काठमाडौँबाट भक्तपुर फर्कनेहरु धेरै हुन्छन् ।
अझ सुविधा सम्पन्न पाँचतारे होटलहरुको कुरा गर्ने हो भने त भक्तपुरको कोर एरियामा पाँचतारे होटल अहिलेसम्म छैनन् भन्दा पनि हुन्छ । अहिलेसम्म छैनन् भन्दा हुन्छ अर्थात अब बन्नेवाला छ ।
नेपालको हस्पिटालिटी क्षेत्रमा अब्बल काम गरिरहेको एमएस ग्रुपले भक्तपुरको नयाँ थिमिमा मेरियट होटलको प्रिमियम ब्राण्ड ‘जेडब्ल्यू मेरियट’ बनाउन लागेको छ । भक्तपुरसँग आफूहरुको ३० वर्षदेखिको पुरानो सम्बन्ध ‘जेडब्ल्यू मेरियट’मार्फत पुनः मुखरित हुन लागेको व्यवसायी शशिकान्त अग्रवालले बताए ।
जेडब्ल्यू मेरियट होटल नयाँ थिमिबाट करिब ४ सय मिटर पूर्वमा बन्न लागेको छ । होटल बनाउनका लागि नेपाली व्यवसायील मेरियटसँग एग्रिमेन्ट साइन पनि गरिसकेका छन् । नयाँ बन्न लागेको जेडब्ल्यु मेरियट होटल अहिले काठमाडौँको नक्सालमा बनेको भन्दा लक्जरी होटल हो ।
होटल निर्माणका लागि जग्गा खरिद लगायतको कार्य सम्पन्न भएको छ । करिब २० रोपनी जग्गा होटल बनाउन लागिएको व्यवसायी अग्रवालले वडापालिकासँग बताए । होटलको पहिलो कन्सेप्ट मास्टर प्लान करिब फाइनल भइसकेको छ । यो काम थाइल्याण्डको आर्किटेक्टले काम गर्दैछ ।
होटल निर्माण पक्षका अनुसार सम्भवतः अबको एक–डेढ महिनामा नक्साहरू फाइनल हुन्छ । त्यसपछि आधारभूत तहका निर्माण कार्यदेखि सरकारी निकायबाट लिनुपर्ने स्वीकृति लगायतका कामहरु हुनेछ । फेरि अहिले वर्षा सिजन पनि सुरु भएको छ । त्यसैले देशैं लगत्तै होटल निर्माणको प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ । र, निर्माण सुरु गरिएको ४ वर्षभित्रमा परियोजना निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।
कस्तो बन्छ होटल ?
मेरियटको प्रिमियम ब्राण्ड जेडब्ल्यु मेरियट होटल बन्ने भएको हो । यो होटल निश्चय नै अत्याधुनिक सुविधा सम्पन्न पाँचतारे भन्दा अलि माथिल्लाेस्तरको होटल हो । होटलमा करिब २४० वटा कोठाहरू हुनेछन् भने सम्भवतः काठमडौँकै सबैभन्दा ठूलो अत्याधुनिक बैंकेट हल निर्माण हुनेछ ।
शशिकान्त अग्रवाल भक्तपुरमा पाँचतारेभन्दा अलि माथिल्लो स्तरको अध्याधुनिक सुविधा सम्पन्न जेडब्ल्यु मेयिट होटल बनउदै छन् । तर, उनलाई भक्तपुरसँग प्रेम छ । आफूले बनाउन लागेको होटलमा केहीगरी भक्तपुरको झल्को आओस् भन्ने उनको चाहना छ ।
‘अहिले हामी जहाँ जेडब्ल्यु मेरियट होटल बनाउँदै छौं, त्यो जग्गामा ३० वर्ष पहिलादेखि हामीले पशुपति स्पिनिङ मिल्स संचालन गरेका थियौं । तत्कालिन माओवादी सशस्त्र द्वन्दको समयमा मिलमा बम विस्फोट भयो । तर, भक्तपुरसँग हाम्रो सम्बन्ध अझ प्रगाढ भएको छ । यसैले जेडब्ल्यु मेरियटमा पनि भक्तपुरको झल्को दिने कोसिस गर्नेछौं,’ अग्रवालले वडापालिकासँग भने ।
जेडब्ल्यु मेरियटमा माउन्टेन म्युजियम राख्ने योजना छ । सो म्युजियममा पर्वतारोहीहरूले पुराना जमानामा प्रयोग गरेका सामग्रीहरु राखिनेछ । म्युजियममा सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति एडमण्ड हिलारी, तेन्जिङ नोर्गे शेर्पालगायतले प्रयोग गरेका सामानहरू राखिने छ ।
‘हिमाल चढ्दा के कस्तो कठिनाइ हुन्छ, एउटा मिनी थिएटर जस्तो बनाएर देखाउने योजना छ । यसको लागि एउटा आइसबार हुन्छ । त्यहाँ जान हिमाल चढ्दा लगाउने लुगा लगाएरै जानुपर्छ । लुगा होटलले नै दिन्छ । त्यहाँ एक जना मानिस बढीमा १०–१५ मिनेट बस्न सक्छ होला । हामी यो नयाँ प्रयोग पनि गर्दैछौं,’ अग्रवालले भने ।
होटल निर्माणमा कुल लगानी करिब ९ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । र, यो लगानी शशिकान्त अग्रवालको परिवारले स्वपुजी र बैंक कर्जाबाट जुटाउँदै छ ।
स्थानीय कसरी लाभान्वित हुन्छन् ?
अहिले ठूला परियोजना संचालनको सबैभन्दा टाउको दुखाइको विषय स्थानीयको नाममा हुने राजनीति र अस्वभाविक गतिविधि हो । स्थानीयका कारण कतिपय आकर्षक परियोजनाहरु असफल हुने जोखिम पनि देखिएका थिए, छन् ।
तर, जेडब्ल्यु मेरियट होटल निर्माणपछि भक्तपुरको अवस्था परिवर्तन हुन सक्छ । कर्पाेरेट वा केन्द्रय कार्यालय काठमाडौँमै राख्नुपर्छ भन्ने ‘इलुजन’ घट्न सक्छ । विहानको अफिस समयमा कोटेश्वरबाट भक्तपुरतिर आउने सडक लेन र बेलुकाको अफिस समयमा लोकन्थलीबाट काठमाडौँतिर जाने सडक लेन व्यस्त हुन सक्छ । र, यसले समग्रतामा काठमाडौँ उपत्यकालाई अलि फराकिलो बनाउने भूमिका निर्वाह गर्न सक्छ । भक्तपुर जिल्ला कर्पाेरेट कार्यालयहरु भएको कर्पाेरेट हब बन्न सक्छ ।
होटल जेडब्ल्यु मेरियटका लगानीकर्ताहरुको सम्बन्ध ३० वर्षदेखि भक्तपुरसँग जोडिएको छ । त्यसैले यहीका लगानीकर्ताले नयाँ परियोजना थपे भनेर स्थानीयले स्वागत गर्ने अवस्था सिर्जना हुन सक्छ । होटल निर्माणको चरणमा, निर्माण सम्पन्न भएपछि सेवा संचालनको क्रममा पनि यहाँका सम्बन्धित क्षेत्रका दक्ष जनशक्तिले पहिलो प्राथमिकता पाउने निर्माण पक्षको भनाइ छ ।
यति मात्रै होइन, थिमि र भक्तपुर स्थानीय तरकारी उत्पादनमा प्रख्यात छ । होटललाई चाहिने तरकारी भक्तपुरले आपूर्ति गर्न सक्छ । पर्यटकको संख्या बढेपछि स्थानीय र समाजले प्राप्त गर्ने व्यवसायिक लगायतका अवसर पनि बृद्धि हुने अवस्था रहन्छ । होटलमा भक्तपुरको झल्को दिने प्रयास हुने बताएका लगानीकर्ताले भक्तपुरको पहिचान अभिबृद्धिका बेग्लै प्रकारको सोच या योजना ल्याउन पनि सक्छन् ।
किन रोजियो भक्तपुर ?
भक्तपुर जिल्लामा अहिलेसम्म एउटा पनि पाँचतारे होटल संचालनमा छैन । पछिल्लो समय ललितपुरमा होटलको संख्या बढेपनि भक्तपुरको कोर एरियामा स्तरीय होटल छैनन् भन्दा पनि हुन्छ ।
यसको मुख्य कारण पूर्वाधारको अभाव पनि हो । सबैभन्दा मुख्य कारण त कोटेश्वरको ट्राफिक जाम नै हो भन्छन् लगानीकर्ताहरु ।
तर, अब अवस्था परिवर्तन भएको छ । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यहरु धुलिखेल र नगरकोटको गेट–वे भक्तपुर नै हो । अहिले नै काठमाडौँको माइतीघरबाट भक्तपुरको सूर्यविनायकसम्म ६ लेनको सडकमार्ग छ । यो सडक विस्तार भएर काभ्रेपलाञ्चोकको धुलिखेलसम्म पुगेको छ । बढी ट्राफिक जाम हुने कोटेश्वर चोकमा फ्लाइओभर र अन्डरपास बनाउने प्रक्रिया नै अघि बढिसकेको छ । यी पूर्वाधारको कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सबैभन्दा नजिकको स्तरीय होटल जेडब्ल्यु मेरियट नै हुने सम्भावना छ ।





