आत्मदाह, न्यूरोडको पसल र मिडियाको गेटमा गाडीसम्मः के नेपालमा प्रेतात्मा सक्रिय भएको हो ?

 

काठमाडौँ । असार २५ गते काठमाडौँको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले आत्मदाहको प्रयास गरेदेखियता नेपालमा अनौठा घटनाहरु सार्वजनिक हुन थालेका छन् ।

नेपालीले आत्मदाहको प्रयास गरेपछि थप २ जना गरी ३ जना नेपालीले लगातार आत्मदाहको प्रयास गरे, यो पनि जम्मा ३ दिनको अवधिमा ।

आत्मदाहको प्रयास गरेका तीन जनामध्ये २ को निधन भइसकेको छ भने एक जनाको उपचार भइरहेको छ ।

पहिलो घटना गत बिहीवार दिउँसो काठमाण्डूको त्रिपुरेश्वरमा भयो। उक्त घटनामा महानगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएपछि भनाभनको अवस्थापछि मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरे । उनको गत शुक्रबार नै निधन भइसकेको छ ।

दोस्रो घटना मधेश प्रदेशको सर्लाहीमा शुक्रवार दिउँसो भयो। सो दिन सर्लाहीको गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफ्नो घरनजिकै आत्मदाहको प्रयास गरे । शुक्रवार नै हेलिकप्टरबाट काठमाण्डू ल्याइएका मण्डलको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।

तेस्रो घटना काठमाण्डूको बुद्धनगरमा शनिवार बिहान भयो, जहाँ ४५ वर्षीय अश्विन राउतले आत्मदाहको प्रयास गरे । उपचारका क्रममा उनको पनि निधन भयो ।

आत्मदाह कुनै रोमान्चक कार्य, सहज मृत्यूवरण वा साहसिक कार्य होइन । जिउदै जलेर मर्ने जस्तो प्रताडनापूर्ण मृत्यूलाई किन अनुसरण गरियो भन्ने एउटा गम्भीर प्रश्न खडा भएको छ ।

यति मात्रै होइन, आइतबार (असार २८ गते) दिउसो अर्काे एउटा घटना सार्वजनिक भयो । सार्वजनिक भएको तथ्य अनुसार सो दिन दिउसै काठमाडौँको न्यूरोडमा फुटपाथ पसल राखियो भने जथाभावी सवारी पार्किङ गरियो । यो काम पनि कुनै रोमान्चक, साहसिक वा अनुकरणीय कार्य होइन । सभ्य समाजले दुत्कार्ने कार्य सो दिन देखियो ।

सोमबार विहान अर्काे अनौठो घटना घट्यो । सो दिन विहान ७ बजेतिर कान्तिपुर पब्लिकेशन, अनलाइनखबर, हिमालयन टिभी लगायत मिडिया अफिस अगाडि शंकास्पद गाडी पार्किङ गरियो । देशका प्रमुख मिडियाको गेटमा आवतजावत रोकिने गरी राखिएको गाडी कसको हो, किन राखियो भन्ने तथ्य अहिलेसम्म खुलेको छैन । अझ चिन्ताको विषय के छ भने सो विषयमा प्रहरीलाई जानकारी गराउँदा प्रहरीले आएर ह्विल लक लगाए पनि हटाएको छैन ।

यी केही दिनको विचमा घटेका अनौठा घटनाले नेपालमा प्रेतात्मा सक्रिय भएको हो कि भनेर धेरैले शंका गर्न थालेका छन् । यद्यपि, वडापालिका डटकम यो संसारमा भुत, प्रेत, पिसाच, मसान हुन्छ भन्ने जस्ता अन्धविश्वासमा विश्वास नगर्ने मात्रै होइन, यी विषयको सोझो इन्कार नै गर्दछ ।

 

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update