काठमाडौँ । नेपालका ठूला अधिकांश संचार गृहका संचालकमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले अनुसन्धान गरिरहेको खुलेको छ ।
मिडिया संचालकहरुको गम्भीर आपराधिक गतिविधिमा संलग्न व्यक्तिसँग आर्थिक कारोबार देखिएको, हुण्डी कारोबारमा संलग्न रहेको, क्रिप्टो करेन्सीको कारोबार गरेको, क्रिप्टो करेन्सी माइनिङ गरेको, बैंकिङ कसुरमा संलग्न रहेको जस्ता आरोपमा सिआइबीले अनुसन्धान गरिरहेको हो ।
सिआइबी स्रोतका अनुसार ठूला दैनिक पत्रिकाहरु कान्तिपुर दैनिक, नागरिक दैनिक, अन्नपूर्ण पोष्ट दैनिकका संचालक विरुद्ध अनुसन्धान भइरहेको छ । यस्तै, अनलाइन खबर, विजमाण्डु, नेपालन्यूज जस्ता मुलधारका अनलाइन संचार माध्यमका संचालक विरुद्ध पनि अनुसन्धान चलिरहेको छ ।
कसलाई के आरोप ?
स्रोतका अनुसार नेपालको मिडिया उद्योगको अग्रणी संचारगृह कान्तिपुर पब्लिकेसन्सका प्रमुख सेयरधनी संचालक विरुद्ध अबैध रुपमा क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको अभियोगमा अनुसन्धान भइरहेको छ । यद्यपि, सो अभियोग कान्तिपुर पब्लिकेसन्सबाट भएको पाइएपछि अनुसन्धान सुरु भएको होइन । कान्तिपुर पब्लिकेसन्सका प्रमुख सेयरधनी संचालकको इसेवा मनि ट्रान्सफरको पनि सेयर रहेको र इसेवामार्फत क्रिप्टो करेन्सीको कारोबार हुने गरेको तथा हुण्डी कारोबार पनि भएको भन्दै सिआइबीले कान्तिपुर पब्लिकेसन्सका प्रमुख सेयरधनीमाथि अनुसन्धान सुरु गरेको हो । कान्तिपुर पब्लिकेसन्सका प्रमुख सेयरधनी कैलाश सिरोहिया हुन् ।
यस्तै, नागरिक दैनिकका प्रमुख सेयरधनी पनि सिआइबीको अनुसन्धानमा परेका छन् । नागरिक दैनिकको प्रकाशक संस्था नेपाल रिपब्लिक मिडियालाई प्रालिबाट पब्लिक कम्पनीमा परिणत गर्ने समयमा सेयरको अस्वभाविक मूल्यांकन गरे गराएको, लेखापरीक्षण प्रतिवेदनमा छेडखानी गरिएको, आइपिओ जारी गरेर आएको पैसा उदेश्य र पूर्वघोषणा विपरितको कार्यमा प्रयोग गरेको, कम्पनीको स्वामित्वमा रहेको अनलाइन न्युज पोर्टल र प्रेस स्वतः पब्लिक कम्पनीको सम्पत्ति हुनुपर्नेमा निजी सम्पत्ति बनाएर पुन पब्लिक कम्पनीलाई विक्री गरेको जस्ता आरोपमा अनुसन्धान भइरहेको छ । नेपाल रिपब्लिक मिडियाको प्रमुख सेयरधनी शोभा ज्ञवाली र उनको परिवार हो ।
यस्तै, अर्काे दैनिक पत्रिका अन्नपूर्ण पोष्टका संचालक विरुद्ध पनि सिआइबीले अनुसन्धान गरिरहेको स्रोतको दाबी छ । अन्नपूर्ण पोष्टका प्रमुख सेयरधनी नागरिक उड्डयन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीसँग मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्क्याउने कार्यमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको हो । अधिकारीले पैसा दिएर केही व्यक्तिलाई प्रमुख आयुक्त राईको ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । यसमा अधिकारीसँग अन्नपूर्ण पोष्ट दैनिकका प्रमुख लगानीकर्ता पनि संलग्न रहेको अभियोगमा अनुसन्धान भइरहेको स्रोतको भनाइ छ । अन्नपूर्ण पोष्टमा क्याप्टेन रामेश्वर थापाको प्रमुख लगानी छ ।
अख्तियार प्रमुख राईलाई धम्क्याउने कार्यमा नेपाल न्युज डटकमका अध्यक्ष प्रमोदराज सेढाई पनि संलग्न देखिएकोले अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
हिमालयन टेलिभिजनसमेत संचालन गरिरहेको अनलाइन खबर डटकमका प्रमुख लगानीकर्ता विरुद्ध पनि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । सो अनलाइनका प्रमुख लगानीकर्तामाथि नेपालको एक वाणिज्य बैंकसँग विज्ञापनको नाममा अनधिकृत रकम लिएको तथा न्युज पोर्टल मार्फत क्रिप्टो करेन्सी माइनिङ गरेको अभियोगमा अनुसन्धान भएको स्रोतले बतायो । केही समय वर्षअघि अनलाइन खबर डटकम मार्फत क्रिप्टो करेन्सी माइनिङ भएको चर्चा चलेपछि सो अनलाइनका संचालकले सार्वजनिक विज्ञप्ति जारी गरी स्वतन्त्र अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउन सम्बद्ध पक्षसँग अनुरोध गरेका थिए । अनलाइन खबरमा धर्म भुसालको प्रमुख लगानी छ ।
आर्थिक क्षेत्रको प्रमुख अनलाइन विजमाण्डु डटकम विरुद्ध पनि अनुसन्धान भइरहेको सिआइबी स्रोतको दाबी छ । सो अनलाइनका प्रमुख लगानीकर्ता सेयर सदस्य भएको एउटा स्कुलको नाममा कर्जा लिइएको र सो स्कुलको सेयरधनीमा सोही वाणिज्य बैंकको सिनियर कर्मचारीको पनि सेयर लगानी देखिएकोले बैकिङ कसुरमा संलग्न रहेको भन्दै अनुसन्धान भइरहेको जनाइएको हो । विजमाण्डु डटकममा ओम थापाको प्रमुख लगानी छ ।
यस्तै, सिआइबीले केही मुलधारका अनलाइन संचार माध्यम, केही आर्थिक अनलाइन संचार माध्यमका संचालक तथा त्यसमा आवद्ध पत्रकारको नागरिक उड्डयन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीसँग शंकास्पद कारोबार भएको भेटिएको दाबी स्रोतको छ । केही प्रमुख संचार माध्यमका पर्यटन विटमा कार्यरत पत्रकारको पनि प्रदीप अधिकारीसँग शंकास्पद कारोबार भेटिएपछि अनुसन्धान भइरहेको स्रोतले बतायो । केही पत्रकार तथा संचारमाध्यम संचालकको आर्थिक हैसियत र कर विवरणमा ठूलो अन्तर देखिएकोले सो विषयमा पनि अनुसन्धान भएको स्रोतको दाबी छ ।






