काठमाडौँ । गत कात्तिक ११ गते प्रभु ग्रुपका अध्यक्ष तथा प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रसाद भट्टचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले ललितपुरबाट पक्राउ गर्यो ।
उनलाई ठाकुर प्रसाद मानन्धरको जाहेरीका आधारमा दायर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको सिआइबीको भनाइ थियो ।
सिआइबीका अनुसार भट्टचन प्रभु मनि ट्रान्सफर प्रालि र प्रभु म्यानेजमेन्ट प्रालिका प्रमुख सञ्चालकका रूपमा कार्यरत रहेर नेपाल राष्ट्र बैंकबाट प्राप्त रेमिट्यान्स कारोबारको लाइसेन्सको दुरुपयोग गरेको आरोप लागेको छ ।
भट्टचनले प्रभु म्यानेजमेन्ट प्रालिलाई सुपर एजेण्टको रूपमा नियुक्त गरी देशभरका सहकारी संस्थामार्फत विप्रेषण कारोबार गर्दै आएकोमा नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ को प्रावधानविपरीत कार्य गरेको पाइएको सीआईबीको दाबी छ ।
विनियमावलीअनुसार कम्पनीले विदेशबाट प्राप्त रकम आफैं वा आफ्ना अधिकृत प्रतिनिधिमार्फत सम्बन्धित लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर भट्टचनको कम्पनीले सहकारी संस्थामार्फत रकम भुक्तानी गराए पनि ती सहकारी संस्थालाई सोधभर्ना नगरी रकम हिनामिना गरेको अनुसन्धानमा खुलेको सिआइबीले जनाएको थियो ।
तर, कात्तिक २६ गते भट्टचन रिहा भए । उनलाई महान्यायाधिवक्ताको कार्यालयले हाजिर जमानीमा छाड्न आदेश दिएको थियो ।
कुसुम बेपत्ता
भट्टनलाई पक्राउ गराउने मुख्य पात्र प्रभु म्यानेजमेन्टकी प्रवन्ध निर्देशक कुसुम लामा थिइन् । लामाले नै भट्टचनलाई पक्राउ गर्न शक्तिकेन्द्रको प्रयोग गरेकी थिइन् । प्रभु म्यानेजमेन्टले मनी ट्रान्सफरको भुक्तानी एजेन्टका रुपमा नियुक्त गरी कारोबार गरेको तर करोडौं रुपैयाँ तिर्न बुझाउन नसकेको भन्दै लामाविरुद्ध राष्ट्र बैंक र प्रहरीमा उजुरी परेको थियो । लामालाई भने प्रहरीले पक्राउ गर्न सकेन । तर, लामाकै उजुरीका आधारमा प्रभु मनी ट्रान्सफरका सञ्चालक भट्टचनलाई पक्राउ गरिए पनि मुख्य अभियुक्त लामा भने पक्राउ परिनन् ।
प्रभु बैंकमा छापा
कात्तिक २२ गते मध्यराति सिइआबीले प्रभु बैंकको केन्द्रीय कार्यालयमा छामा मार्यो । सिआइबीले पूर्वअध्यक्ष भट्टचन मात्रै होइन, बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि यो प्रकरणमा संलग्न हुन सक्ने आकलन गरेर बैंकमा छापा मारेको थियो ।
सिआइबीले मध्यराति बैंकमा छापा मारेपछि सो विषयले बैकिङ क्षेत्र तरंगित भयो । देशको ठूलो शाखा संजाल भएकोमध्येको एक प्रभु बैंकमा सिआइबीले छापा मारेको विषयले सो बैंकमा सर्वसाधारणको लाइन लाग्न सक्ने र बैंक नै अप्ठेरोमा परेर नेपालको बैंकिङ क्षेत्रमा नै समस्या आउन सक्ने आकलन नेपाल राष्ट्र बैंकले गर्यो । अन्य बैंकहरु पनि बैंकिङ प्रणालीमै समस्या आउन सक्ने भन्दै सतर्क भए ।
तर, त्यसपछिका घटनाक्रमहरु हेर्दा सो छापाको केन्द्रमा बैंकिङ घोटलासँग सम्बन्धित अनुसन्धान थियो वा नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बन्नको लागि गरिएको शक्तिको दुरुपयोग वा स्टन्ट मात्रै थियो भन्ने बहस पनि सुरु भएको छ ।
यस्तो बहस किन सुरु भएको छ भने सिआइबीले प्रभु बैंकमा छापा मारेको समयमा सिआइबी प्रमुख डा. मनोज केसी थिए । र, सो समय नयाँ आइजिपी नियुक्तिको अन्तिम कसरत हुदैथियो । आइजिपी चन्द्र कुवेर खापुङको कार्यकाल सकिएर नयाँ आइजिपी नियुक्तिको प्रक्रिया सुरु भएको थियो ।
नयाँ आइजिपीको लागि डा. केसी पनि एक प्रमुख दाबेदार थिए । यद्यपि, कात्तिक २४ गते बसेको मन्त्रिपरिषद बैठकले नयाँ आइजिपीमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । कार्कीलाई नयाँ आइजिपीमा नियुक्त गरेको २ दिनपछि नै सिआइबीले भट्टचनलाई रिहा गर्नुले पनि सो प्रकरण शक्तिको दुरुपयोग थियो कि भनेर शंका गर्न थालिएको छ ।
यस्तो शंका किन पनि गरिएको छ भने बैंक तथा वित्तीय संस्थाबाट कर्जा अपचलनको विषयमा नेपाल राष्ट्र बैंकले संवेदनशील भएर अनुसन्धान र सुपरीवेक्षण गर्ने गरेको हुन्छ । प्रभु बैंकका पूर्वअध्यक्ष भट्टचन र प्रभु म्यानेजमेन्ट जोडेर कर्जा दुरुपयोगको प्रसंग चलेको लामो समय भइसकेको छ । यसैकारण सो विषयमा नेपाल राष्ट्र बैंकले यसअघि पनि धेरै पटक स्थलगत निरीक्षण नै गरिसकेको छ । बैंकिङ कारोबारमा नेपाल राष्ट्र बैंकले नदेखेको कमजोरी सिइआबीले भेट्टाउन सक्नेमा शंका गरिएको छ ।





