Odapalika - The Fourth Estate - चौथो अंग
प्रभु बैंकका ४ विकल्प, तेस्रो अपनाउने कि चौथो कुर्ने ?

काठमाडौँ । प्रभु बैंक अहिले आफू जन्मुनभन्दा अगाडीका ३ समस्या र ४ शक्तिकेन्द्रको संघर्षको मैदान बनेको छ । यद्यपि, ४ शक्तिकेन्द्रमा चौथो शक्तिकेन्द्र भने प्रभु बैंक जन्मेपछि तयार भएको हो ।

यसलाई थप प्रष्ट पारौं ।

प्रभु बैंक धेरैवटा बैंक तथा वित्तीय संस्थाहरु मर्ज भएर आजको अवस्थामा आइपुगेको हो । यसमा खासगरी प्रभु फाइनान्स, किस्ट बैंक र ग्राण्ड बैंक मर्ज तथा एक्वीजीसन भएर प्रभु बैंक बनेको हो ।

प्रभु बैंक ३ प्रमुख समस्याको दलदलमा छ किन भनियो भने तत्कालिन प्रभु फाइनान्स कम्पनी प्रभु ग्रुपले आफूखुरी चलाएको कम्पनी थियो । सो कम्पनीमा अहिलेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन नै प्रमुख कार्यकारी अधिकृत थिए । प्रभु फाइनान्स हुँदा पनि सो कम्पनीमा प्रभु ग्रुपका देवी भट्टचनको हालिमुहाली चल्थ्यो ।

प्रभु फाइनान्स पछि गएर प्रभु विकास बैंक बन्यो । प्रभु विकास बैंकले किष्ट बैंक किन्यो । किष्ट बैंक सो बैंकका प्रबन्ध संचालक कमल ज्ञवालीले आफूखुसी चलाएको बैंक थियो ।

प्रभु बैंक अस्तित्वमा आउनुअघि ग्राण्ड बैंक संचालनमा थियो । सो बैंकलाई बैंकका प्रबन्ध संचालक सुधिरबाबु खत्रीले आफूखुसी ढंगले चलाएका थिए । 

केही व्यक्ति र समुहले आफू अनुकुल चलाएका प्रभु फाइनान्स, किष्ट बैंक र ग्रण्ड बैंक आजको प्रभु बैंक हो । अर्थात प्रभु बैैंक जन्मनुअघि नै तयार भएका प्रभु फाइनान्सका समस्या, किष्ट बैंकका समस्या र ग्राण्ड बैंकका समस्या अहिले प्रभु बैंकका समस्या हुन् ।

तर, प्रभु बैंकमा अहिले ४ शक्तिकेन्द्रको टकराव छ । तीनवटा शक्तिकेन्द्र तिनै प्रभु, किष्ट र ग्राण्ड बैंकका शेयरधनी हुन् भने चौथोमा पछि थपिएको सेन्चुरी बैंक समुह हो । सेन्चुरी बैंक प्रभु बैंकमा मर्ज भएको थियो ।

तीनवटा मुख्य समस्या र ४ वटा शक्तिकेन्द्रको शक्ति संघर्ष बोकेर हिडेको प्रभु बैंक अहिले सर्वाधिक तनावको अवस्थामा छ । प्रभु बैंक बनेपछि पहिलाको किस्ट, ग्राण्ड र सेन्चुरी समुहको अस्तित्व नै नामेट जस्तो थियो । तर, यो समुह प्रभु समुहको रापतापमा जेनतेन प्राण धानिरहेको थियो ।

प्रभु समुहमा देवी भट्टचन र कुसुम लामाबीच समस्या सिर्जना भएपछि प्रभु बैंकमा समस्या देखिएको छ । र, अझैपनि प्रभु बैंकमा प्रभु समुहकै आधिपत्य कायम रहने वा अन्य कुनै पक्षले प्रभुत्व जमाउने भन्ने शक्ति संघर्ष चरम अवस्थामा छ ।

अहिले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) मा अनुसन्धानको क्रममा हिरासतमा छन् । बैंकका पूर्वअध्यक्ष देवी भट्टचन पनि सिआइबीको अनुसन्धानको दायरा नै छन् । बैंकका उच्च व्यवस्थापनका केही कर्मचारी पक्राउ परेका छन् भने केही कर्मचारीमाथि अनुसन्धान जारी छ । आफू पक्राउ पर्ने हो कि भन्ने त्रासमा बैंकका कर्मचारी छन् । प्रत्येक दिनजसो सिआइबीको टोली बैंकको परिक्रमा गरिरहेको छ । बैंकमा त्रासको अवस्था छ ।

बैंक संचालक समितिले डेपुटी सिइओ निरज लम्साललाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको छ । पक्राउ परेका सिइओ अशोक शेरचन निलम्बनमा परेका छन् ।

यो अवस्थामा प्रभु बैंकसँग खासगरी ४ विकल्प थिए । 

पहिलो– अशोक शेरचन दोषी छैनन्, सफाइ पाएर आउँछन् र फेरि बैंक चलाउछन् भनेर कुर्ने ।

दोस्रोः अब अशोक शेरचन सिइओ भएर आउने सम्भावना छैन । उनले आएर पनि बैंक संहाल्न सक्दैनन् । कर्मचारीको मनोबल बढाउन सक्दैनन् । तरपनि बैंकमै सक्षम व्यक्ति छन् । उनलाई सिइओ बनाएर बैंकलाई अगाडी बढाउने निर्णय गर्ने ।

तेस्रोः अशोक शेरचन आए भने पनि अब बैंक संहाल्न सक्दैनन् । कर्मचारीको मनोबल उकास्न सक्दैनन् । यहीका कर्मचारीबाट बैंक अगाडि बढाउन कठिन हुने जस्तो देखिन्छ । त्यसैले बाहिरबाट सक्षम सिइओ ल्याउने र माथि उल्लेख गरिएका ३ समस्या समाधान गर्ने तथा ४ शक्तिकेन्द्रलाई सन्तुलनमा राख्ने काम गर्ने ।

चौथोः अब केही गर्न सक्ने अवस्था रहेन, राष्ट्र बैंकको शरणमा जाने ।

प्रभु बैंकसँग पहिलो र दोस्रो विकल्प अब काम लाग्ने अवस्थामा छैन । किनभने अशोक शेरचन प्रहरीको अनुसन्धानबाट फर्केर आएपनि कर्मचारीको मनोबल उकासेर बैंक संहाल्न सक्ने परिस्थिति प्रतिकुल हुँदै गएको आभाष मिलेको छ । र, अहिलेका कार्यवाहक सिइओ निरज लम्सालले बैंकलाई संहालेर अघि बढाउँछन् भन्नेमा बैंक संचालक समिति नै कन्फ्युजनमा देखिन्छ । कुनै कर्मचारीबाटै सिइओ बनाउँदा पनि जसलाई सिइओ बनायो, सिआइबीले पुरानै केसमा फेरि उसलाई नै पक्राउ गर्ने हो कि भन्ने अर्काे त्रास पनि कायमै छ ।  

अब प्रभु बैंकसँग तेस्रो विकल्प बाँकी छ । त्यो भनेको नयाँ सिइओ नियुक्त गर्ने हो । बजारमा चलेका वा अहिले कुनै वाणिज्य बैंकको डेपुटी सिइओ रहेका व्यक्तिलाई सिइओ बनाएर ल्याउन सकेमा प्रभु बैंकको लागि हितकर देखिन्छ । तर, यस्तो सिइओ ल्याउनु पर्नेछ, जसले नियामकको मनसाय बुझेर काम गरोस्, पहिलादेखिका ३ वटा समस्या समाधान गर्न सकोस र ४ शक्तिकेन्द्रको शक्ति सन्तुलन कायम गरेर बैंकलाई अघि बढाउन सकोस् ।

प्रभु बैंकमा घटनाक्रमहरु यति चाढो विकसित भइरहेका छन् कि बैंक संचालक समितिले छिट्टै नै तेस्रो विकल्प उपयोग गर्न सकेन भने तत्काल चौथो विकल्प मात्रै बाँकी हुन सक्छ । यद्यपि, पछिल्ला केही दिन बैंक संचालक समिति पनि तेस्रो विकल्प उपयोगको दौडमा जुटेको देखिन्छ । 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update