Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री डा. राणा र उनको छोरामाथि प्रतिशोध साध्न लागेकै हुन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले अन्य राजनीतिक दलका नेताहरुप्रति प्रतिशोध लिने क्रम नरोकिएको बताएका छन् । 

पार्टी सम्वद्ध गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओली निरंकुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस भएको टिप्पणी गरे । 

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट थालेको प्रतिशोधको शृंखला काँग्रेस नेतृ एवं वर्तमान परराष्ट्रमन्त्री  डा. आरजु राणा देउवासम्म पुगेको टुंगिने दाबी उनको थियो । 

सहकारी ठगीमा लामिछानेलाई थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ ओलीले कदम चालेको पुनले आरोप लागाए । 

यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा लगाएर सो पार्टी एमालेमा गाभ्ने ओलीको नियत सबैले बुझेको उनको भनाइ छ । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन गराएर एउटा समूहलाई आफूतिर मिलाउने तयारीमा ओली रहेको दाबी पुनले गरे । 

‘ओलीजीले विरोधीलाई ठेगान लगाउने नाममा अरु दलका मुल नेतृत्वमाथि मुद्दा मामिला लगाउने पार्टी विघटन गरिदिने वा आफूमा गाभ्ने नीति लिनुभएको छ । रवि लामिछानेलाई भित्र राखेर पार्टी फुटाइदिने । ‘एक्स्ट्रिम राजावादी दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई जेल हाल्दिने । राजेन्द्र लिङदेनलाई अहिले आन्दोलन नगर भनेर रोक्न लगाउने । माधव नेपाललाई मुद्दा लगाएर एकीकृत समाजवादी आफूमा गाभ्ने । उपेन्द्र यादवजीको पार्टी फुटाएर एउटा समूह आफूमा मिलाउने, हेर्दै जानुस् काँग्रेस गठबन्धनबाट अलिकती चल्मलाउन थाल्यो भने उहाँले कुनै केही न केही नाममा आरजु राणालाई मुद्धा लगाउने तयारी गर्नुभएको छ । उहाँले अब आरजुका आमाछोराको पालो हो भनेर काँग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ,’ उनले भने ।

भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई तानेर ओलीले काँग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको दाबी पुनले गरे । 

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत फसाउन सकिन्छ कि भनेर ओलीले एक वर्षअघि नै प्रयास गरेको पुनले बताए ।

‘जब सिआईबी, सम्पत्ति शुद्धीकरण र अख्तियारबाट केही पनि भेटिएन, सकिँदैन भनेपछि धेरै पहिला कुनै बेला उहाँका पीए बसेका विकेश श्रेष्ठमार्फत तान्न सकिन्छ कि भनेर शेरा दरबारतिर लाग्नुभयो, यो कुरा पुष्टि नै भइसकेको छ’, पुनले भने । 

प्रचण्डले शेरा दरबारबाट सुरु गरेर यति, ओम्नी, वाइडबडी, बालुवाटार र गिरिबन्धुसहित सबै प्रकरणको छानबिन गर्नुपर्ने बताएपछि ओली चुप लागेको उनको भनाइ थियो । आफूहरुले नेकपा कालमा ओलीसँग तीन वर्ष सँगै काम गरेको र उनको तरिकासँग परिचित रहेको पुनले बताए ।  ओलीको एकाधिकारवादी निरंकुश र स्वेच्छाचारी प्रवृत्तिबारे आफूहरुलाई थाहा भएरै उनीविरुद्ध आफूहरुले लडिरहेको पुनले उल्लेख गरे ।

‘सबै एमाले होइन, ओलीको झण्डामुनि रहेको दक्षिणपन्थी र एकाधिकारवादी सानो गिरोहविरुद्ध हामी लडिरहेका छौं । केही गल्ती नगरेका कारण हामी डराएका छैनौं । अरु पार्टीमा जसरी माओवादीमा ओलीजीले भाँडभौलो मच्चाउने, तोडफोड गर्न सक्नुहुन्न’, उनले भने । 

पुनले ओली सरकारको एक वर्ष त्यसै खेर गएको  बताए । सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमा बितेको आरोप उनको छ । 

‘केपी ओली नेतृत्वको सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमै बितेको छ । भ्रष्टाचारका एकपछि अर्को काण्ड थपिएको छ । भर्खरै घूस मागेका एक मन्त्रीले राजीनामा दिए । अर्काको फेरि घूस डिल गरेको अडियो सार्वजनिक भएको छ । एक वर्षमा सरकारले बिचौलिया पोस्ने कामबाहेक केही गरेको छैन,’ उनले थपे ।

नेता पुनले प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री डा. राणा र उनका छोरा जयवीर देउवामाथि प्रतिशोध साध्ने दाबी गरेपनि यसको कुनै स्वतन्त्र पुष्टी भने भएको छैन । बरु पछिल्लो समय नेपाली कांग्रेसको संस्थापन इतर समुह अर्थात डा. शेखर कोइराला समुह र माओवादी केन्द्र वर्तमान सत्ता गठबन्धन ढालेर नयाँ गठबन्धन बनाउने प्रयासमा छ । 

नेता पुनको भनाइ प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री डा. राणा र उनको परिवारमाथि प्रतिशोध साध्ने प्रयास गरेको जानकारी दिनको लागि भन्दा पनि वर्तमान सत्ता गठबन्धनमाथि दरार उत्पन्न गराउन सकिन्छ कि भन्ने मनसायले आएको देखिन्छ । परराष्ट्रमन्त्री डा. राणा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती हुन् । सभापति देउवा र प्रधानमन्त्री ओलीकै विशेष पहलमा वर्तमान सत्ता गठबन्धन बनेको हो ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update