Odapalika - The Fourth Estate - चौथो अंग
बन्द ह्यातले भन्योः होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँछ 

काठमाडौं - प्रमुख पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स (ह्यात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलन क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनकारी दिएको छ ।

होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिए । उनले होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले सरकारबाट आवश्यक साथ–सहयोग प्रदान गरिने भनी दिइएको आश्वासनप्रति होटलले आभार व्यक्त गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा होटलमा भएको क्षतिको मूल्यांकन भइरहेको र पुनर्निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्प सहित सञ्चालन हुने  विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘आन्दोलन क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, ब्यांक्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ, त्यसयता होटल पूर्णरूपमा बन्द छ,’ होटलले भनेको छ, ‘हाल क्षतिको पूर्ण मूल्यांकनपछि होटल स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुन: सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ स्तरोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने होटलको भनाइ छ ।

होटलले आगामी दिनमा सरकारको राजस्व स्रोतमा वृद्धि गरी मुलुकको आर्थिक विकासमा थप योगदान पुर्‍याउने र नेपालको फ्ल्यागसिप होटलको अभिभारा बोक्दै पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्प सहित सञ्चालन हुने प्रतिबद्धता समेत जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update