विराटनगर - प्रहरीले मोरङमा एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ। यस क्रममा चालकसहित दुई जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कवित कटवालले बताए।
पक्राउ पर्नेमा स १ च ६५६ नम्बरको एम्बुलेन्सका चालक विराटनगर महानगरपालिका-५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र उनीसँगै रहेका जहदा गाउँपालिका-३ का ३२ वर्षीय दिलीपकुमार राजवंशी रहेका छन्।
बुधबार राति लागु औषध ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाट खोलाको टोलीले उनीहरूलाई विराटनगर महानगरपालिका-५ बाट पक्राउ गरेको कटवालले बताए। एम्बुलेन्सभित्र कालो रङको झोलामा लुकाएर राखेको ३३ किलो ६१० गाँजा बरामद भएको थियो। पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखिएको छ।
ब्राउनसुगरसहित तीन पक्राउ
प्रहरीले लागु औषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार विराटनगर-५ बाट सुनसरी देवानगञ्ज गाउँपालिका-२ का विकासकुमार यादव, भारत बिहार पूर्णियाका कृष्णकुमार मेहता र पथरी शनिश्चरे नगरपालिका-९ का २३ वर्षीय कविन कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यादव र मेहताको साथबाट ५३ ग्राम १७ मिलिग्राम तथा कार्कीको साथबाट ९३० मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ






