Odapalika - The Fourth Estate - चौथो अंग
सहकारी दर्ताका लागि आवेदन खुल्यो, ६० दिनभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्ने

काठमाडौँ । सहकारी संस्थाको नियमनका लागि स्थापना भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थालाई दर्ता हुन आह्वान गरेको छ । सहकारी संस्थाहरू अनलाइनमार्फत प्राधिकरणमा दर्ता हुनुपर्ने छ  । यसका लागि आजदेखि ६० दिनको समय रहेको छ । 

प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–०८२’ (पहिलो संशोधन) जारी गर्दै मापदण्डअनुसार सहकारी संस्था दर्ताका लागि प्राधिकरणले बुधबार अनलाइन पोर्टल (विद्युतीय प्रणाली) सार्वजनिक गर्दै छ ।

उक्त प्रणाली सार्वजनिक भएपछि मात्र सहकारी संस्थालाई दर्ताका लागि दिइएको अवधि (म्याद) गणना सुरु हुनेछ । प्राधिकरणले हालै जारी भएको मापदण्डमा विद्युतीय दर्ता प्रणाली जारी भएपछि मात्र म्याद गणना सुरु हुने उल्लेख छ । 

प्राधिकरणमा दर्ता गर्दा सहकारी संस्थाले शुल्क तिर्नुपर्नेछ । संस्थाको कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्वका आधारमा शुल्क तय गरेको छ । जसअनुसार २ करोडसम्म कुल सम्पत्ति भएका सहकारीले १ हजार, २ करोडभन्दा बढी १० करोडसम्म ३ हजार, १० करोडभन्दा बढी २५ करोडसम्म ५ हजार, २५ करोडभन्दा बढी ५० करोडसम्म ७ हजार, ५० करोडभन्दा बढी १ अर्बसम्म १० हजार र १ अर्बभन्दा बढी कुल सम्पत्ति भएका सहकारीले १५ हजार सञ्चालन इजाजतपत्र दस्तुर तिर्नुपर्नेछ । 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update