Odapalika - The Fourth Estate - चौथो अंग
ट्रेडमार्क दर्ता प्रक्रिया पुनः सुरु 

काठमाडौं- उद्योग विभागले जेनजी आन्दोलनबाट प्रभावित ट्रेडमार्क दर्ता प्रक्रिया पुनः सुरु गरेको छ । प्रदर्शनका क्रममा भदौ २४ गते देशभर भएको आगजनी, तोडफोड र लुटपाटका घटनाबाट उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखामा रहेका अधिकांश फाइल जलेर नष्ट भएपछि ट्रेड मार्क दर्ता प्रभावित बनेको थियो ।

दर्ता प्रक्रिया प्रभावित भएको र प्रणालीलाई पुनः सुचारु गर्न सार्वजनिक सूचनामार्फत विभागले कम्पनीको ट्रेडमार्क दर्ता गर्न अनुरोध गरेको हो । विभागमा ट्रेडमार्क दर्ताका लागि आवेदन दिएर कागजात अपूर्ण भएका सबै दरखास्तवालाहरूलाई मंसिर १५ देखि ९० दिनभित्र आवश्यक कागजातसहित पुनः निवेदन पेस गर्न आग्रह गरेको छ ।

सम्बन्धित व्यवसायिक कम्पनी निर्धारित समयभित्र निवेदन नआएमा सात वर्षभन्दा पुराना सबै आवेदन तीन महिनापछि स्वतः खारेज हुने पनि विभागले प्रस्ट पारेको छ ।साथै, विभागले प्रकाशन गरेको औद्योगिक सम्पत्ति बुलेटिनमा ५ सय ११ कम्पनी छन् । यस सूचनाअघि नै औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशित भई दाबीविरोध नपरेका ट्रेडमार्क आवेदनहरूको हकमा पनि नयाँ प्रक्रिया लागू गरिएको छ ।

सम्बन्धित दरखास्तवालाले ६ महिनाभित्र प्रमाणपत्र प्राप्त गर्न आवश्यक प्रक्रिया पूरा गरी विभागमा निवेदन पेस गर्नुपर्नेछ । सो अवधि बितेपछि यस्ता आवेदनहरू समेत खारेज हुने विभागले चेतावनीसमेत दिएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update