Odapalika - The Fourth Estate - चौथो अंग
तरकारीमा आज विषादि छर्किने, भोलि बजार पठाउने !

काठमाडौँ : नेपालमा विगत केही वर्षदेखि तरकारीको उत्पादन उल्लेखनीय मात्रामा वृद्धि भएको छ तर किसानले तरकारीबालीमा समुचित प्रयोग गर्न नजान्दा विषादीको अत्यधिक मात्रा फेला पर्न थालेको छ ।

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, पौष्टिक आहारसम्बन्धीको सचेतना प्रविधिमा पहुँच र उत्पादन सामग्रीको उपलब्धतामा वृद्धिका कारणले घरायसी प्रयोगका लागि र आर्थिक उपार्जनको राम्रो स्रोत भएका कारणले व्यावसायिक तरकारी खेतीको विस्तार तथा विकास भएको हो । बढ्दो सहरीकरणले ताजा तरकारीको माग पनि बढाएको छ तर पछिल्लो समय तरकारीमा अत्यधिक मात्रामा रासायनिक विषादीको मात्रा बढेको समाचार आउन थालेपछि यस क्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् । 

तीन तहका सरकारसँग कृषि प्राविधिक भए पनि किसानका खेतबारीसम्म पुगेर ‘कृषि परामर्श’ गर्ने परिपाटी क्रमशः कमजोर बन्दै गएको गुनासो किसानको छ । धेरै किसान विषादीको प्रयोग बिउबिजन तथा विषादी बिक्रीकर्ता (एग्रोभेट) कै सल्लाहमा मात्रै प्रयोग गर्दै आएका छन् । ‘किसानसम्म सरकारी संरचनाको पहुँच पुग्न नसक्दा त्यसले तरकारीमा विषादीको मात्रा बढाएको छ’, अधिकारकर्मी बीपी पौडेलले भने। 

नेपालमा करिब तीन लाख हेक्टर क्षेत्रफलमा खेती भई करिब ४१ लाख मेट्रिक टन ताजा तरकारी उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २०८०र८१ को तथ्याङ्कले देखाउँछ । तरकारी उत्पादन र व्यवसायले धेरै व्यक्तिको रोजगारी सिर्जना पनि भएको छ । पछिल्ला वर्षमा युवाको आकर्षण यो पेसामा बढेको छ । देशैभरिका सहर आसपासका क्षेत्रमा व्यापक रूपमा तरकारी उत्पादन हुन थालेको छ । यसले गर्दा आलु, प्याज र लसुनबाहेक अन्य ताजा तरकारीमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुख रहेको वरिष्ठ कृषि प्रचार अधिकृत दीपक पौडेल बताउँछन्। तर ताजा तरकारी उपभोग गरिने र केही तरकारी त सलादका रूपमा काँचै पनि उपभोग गरिने भएकाले विषादीको प्रयोगमा संवेदनशीलता जरुरी भएको उनले बताए। 

रासायनिक विषादीको असर रोग किरामा तुरुन्तै पर्ने हुनाले बालीनाली सुरक्षित राख्न कृषक अन्य विकल्पतिर नलागी सोझै रासायनिक विषादीमा नै भर पर्ने प्रवृत्ति बढेसँगै त्यसले उपभोक्ताको भान्सासम्म विषादी पुगेको उपभोक्ता हक अधिकार संरक्षणको क्षेत्रमा क्रियाशील विनोद सापकोटाले बताए । पछिल्लो समयमा सागमा किरा र पुतलीले दुःख दिन थालेपछि किसानले विषादीको प्रयोग बढाएका छन् तर किसानलाई विषादी छर्किएको कति समयसम्म बजार लान मिल्दैन भन्ने ज्ञान नभएकाले विषादी छर्किएकै भोलिपल्ट बजार पुगेको पाइन्छ । 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update