Odapalika - The Fourth Estate - चौथो अंग
सत्तारूढ दलकै कारण रोकियो सुदूरपश्चिमको स्थानीय सेवा विधेयक 

काठमाडौं । सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२’ माथिको थप कामकारबाही रोकिएको छ । 

ऐनका कतिपय दफा विवादित बनेपछि संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा ‘टेबुल’ भएको लामो समय भइसकेको छ । विधेयकमा सहमति जुट्न नसकेकै कारण प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको नियमित बैठक पनि अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ ।

सभामुख भीमबहादुर भण्डारीले स्वार्थी समूह हाबी हुँदा संशोधन विधेयकको थप कारबाही अघि बढ्न नसकेको बताए । ऐन कार्यान्वयनबाट सीमित कर्मचारीलाई मात्र फाइदा पुगेको भन्दै असन्तुष्ट कर्मचारीले अदालतमा मुद्दा दर्ता गरेपछि ऐन विवादित बन्न पुगेको हो ।

अदालतले अन्तरिम आदेश जारी गरी हाललाई ऐन कार्यान्वयन नगर्न र नगराउन आदेश जारी गरिसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयको विधायन शाखाका प्रमुख भूरीप्रकाश जोशीले गहन अध्ययन नगरी लापरबाही ढंगले कानुन बनाउँदा विवादित बन्न पुगेको बताए ।

उनले भने, ‘ऐनको दफा ९ मा ज्येष्ठ कर्मचारीलाई कनिष्ट र कनिष्ट कर्मचारीलाई ज्येष्ठ बनाउने खालको प्रावधान समेटिएकाले विवादित देखियो । बढुवा हुन पाउने ज्येष्ठ कर्मचारीको बढुवा नहुँदा उनीहरू अदालतसम्म पुगे ।’

सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार छ । ऐनबमोजिम यसअघि नै सुदूरपश्चिम प्रदेशका विभिन्न सेवामा कार्यरत धेरै कर्मचारीको बढुवा भइसकेको छ । ऐन बनेर कार्यान्वयमा गएको एक वर्ष नपुग्दै सरकारले यो ऐन संशोधनका लागि पहल गरेको हो ।

ऐन संशोधन विधेकलाई संघीय कानुनअनुसार बनाउन लागिएको भए पनि तत्कालै थप कारबाही अघि बढाउन अन्योल भएको विधायन शाखा प्रमुख जोशीले बताए । 
 

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update