१२ वर्षपछि भोट हाल्न पाउँदा कार्यकर्ता दंग, तर अझै पुगेन उम्मेदवारको ढंग  

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा  गोरखा–२ का मतदाताले १२ वर्षपछि नेपाली कांग्रेसका उम्मेदवारलाई रुख चिन्हमा भोट हाल्न पाउने भएका छन् । 

भोट हाल्न पाउँदा कार्यकर्ता जति दंग छन्, चुनावी प्रचारमा होमिएका उम्मेदवारको भने ढंग नपुगेको भन्दै कार्यकर्ताहरु नै गुनासो गरिरहेका छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ३ क्षेत्र रहेको गोरखामा कांग्रेसको तर्फबाट तत्कालिन गोरखा–२ (पालुङटार, सिरानचोक, अजिरकोट) क्षेत्रबाट रविकला खनाल र क्षेत्र नं ३ (बारपाक सुलिकोट) क्षेत्रबाट हरिबहादुर घले उम्मेदवार थिए ।

२०७२ सालमा भएको  निर्वाचन क्षेत्रको पुर्नसंरचनासँगै तीन क्षेत्रबाट दुई क्षेत्र कायम रहेको गोरखा–२ का बासिन्दाले १२ वर्षपछि २१ फागुनमा नेपाली कांग्रेसको रुख चिन्हमा भोट हाल्दैछन् ।  कांग्रेसको तर्फबाट गण्डकी प्रदेशका पूर्वसांसद प्रकाशचन्द्र दवाडी उम्मेदवार छन् ।

गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ स्वाँराका पूर्णबहादुर गुरुङ १२ वर्षपछि कांग्रेसको उम्मेदवारलाई भोट हाल्न पाएकोमा खुशी लागेको बताउछन् । 

‘विगतका निर्वाचनमा गठबन्धन हुँदा आफ्नो उम्मेदवारलाई भोट हाल्न पाएनौ, यसपटक आफ्नो उम्मेवार पाएका छौँ,’ उनले भने ।

विस २०७४ सालको निर्वाचनमा नयाँ शक्ति पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई आँखा चिन्हमा भोट हालेका गोरखा–२ का बासिन्दाले विस २०७९ सालमा तत्कालिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई हसिँया हतौडा चिन्हमा भोट हालेका थिए ।

माओवादी केन्द्रले हाल उक्त पार्टी र चुनाव चिन्ह छोडेको छ भने पूर्वप्रधानमन्त्री डा भट्टराईले उम्मेदवारी मनोनयन गरेर अन्तिम समयमा निर्वाचन नलड्ने भन्दै फिर्ता लिएका छन् ।

गोरखा अजिरकोट गाउँपालिका–३ काफलडाँडाका सुरेश दवाडी धेरैपछि रुख चिन्हमा भोट हाल्न पाइएको बताउँछन् । 

यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट लेखनाथ न्यौपाने, रास्वपाबाट कविन्द्र बुर्लाकोटी र नेकपा (एमाले)बाट चक्रे मिलन उम्मेदवार छन् ।

यो क्षेत्रमा गोरखा नगरपालिकाको वडा नं ८,९,१०,११,१२,१३,१४ सहित पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका छन् ।

४ जना उम्मेदवारबीच टक्कर रहेको क्षेत्रमा कांग्रेसका उम्मेदवारले रणनीतिक रुपमा उपस्थिति जनाउन सके यसपटक १२ वर्षपछि खोलो फर्कने कांग्रेस कार्यकर्ताको विश्वास छ ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update