जिल्ला अदालतले बालबालिका कसूरमा पक्राउ परेकी सांसद शर्मालाई रिहा गर्न दियो आदेश

काठमाडौं - काठमाडौँ जिल्ला अदालतले बालबालिका सम्बन्धी कसूरमा पक्राउ परेकी लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्मालाई हिरासतमुक्त गर्न आदेश दिएको छ। 

आइतबार जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले यस्तो आदेश जारी गरेको हो। म्याद थपका लागि दोस्रो पटक अदालतमा उपस्थित गराइएकी शर्माको पक्षबाट वरिष्ठ अधिवक्ता श्रीकान्त बराल तथा अधिवक्ताहरू राधिका खतिवडा र मञ्जु ज्ञवालीले बहस गरेका थिए। बहसका क्रममा उनीहरूले शर्माले पीडितलाई यातना नदिएको र बरु संरक्षकको भूमिका निर्वाह गर्दै आएको तर्क प्रस्तुत गरेका थिए ।

अदालतले मिसिल संलग्न कागजातहरूको अध्ययन गर्दा पीडितको पढाइ निरन्तर रहेको र प्रतिवादीले संरक्षकको रूपमा भूमिका निर्वाह गरिरहेको देखिएको उल्लेख गरेको छ। आदेशमा भनिएको छ, 'शंकित रेखा कुमारी शर्माले पीडितलाई यातना दिई दास बनाई राखेका हुन् भन्ने आरोपित तथ्य पुष्टि गर्ने वस्तुनिष्ठ र निश्चयात्मक प्रमाण मिसिलमा देखिएन।'

यसअघि नै जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँ र उच्च सरकारी वकील कार्यालय, पाटनले शर्माको हकमा 'दास बनाउन नहुने' कसूरमा मुद्दा नचलाउने निर्णय गरिसकेका थिए। उक्त निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले समेत समर्थन गरी अन्तिम निर्णय पठाइसकेको अवस्थामा प्रतिवादीलाई थुनामा राखिरहनु पर्ने कानूनी आधार नदेखिएको अदालतको ठहर छ।

महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय भइसकेको विषयमा प्रतिवादीलाई थुनामै राखी अनुसन्धान गरिरहनु पर्ने औचित्य नदेखिएकोले शर्मालाई तत्काल हिरासतबाट मुक्त गरी मुद्दाको बाँकी अनुसन्धान अगाडि बढाउन अदालतले आदेश दिएको छ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update