काठमाडौं - पुरातत्व विभागका तत्कालीन इन्जिनियर पूर्णबहादुर श्रेष्ठसमेत २ जनाविरुद्ध भ्रष्टाचारसहित सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा दुवै मुद्दा दर्ता गरेको हो । श्रेष्ठसँगै आयोगले पुरातत्व विभागका सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरू दुवै जनाविरुद्ध ४ करोड २२ लाख ७५ हजार ९८५ रूपैयाँ बिगो कायम गरिएको छ ।
उनीहरूले एउटा ठेक्का पाएका निर्माण सेवाका सञ्चालक तथा सम्बद्ध जेभीहरूको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा घुस रकम लिएको अभियोगपत्रमा उल्लेख छ । घुसवापत बैंक खातामा पाएको उक्त रकम मध्येबाट दुवै जनाले संयुक्त नाममा सम्पत्ति समेत खरिद गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।
उनीहरूले ६४ करोड २१ लाख ८९ हजार ६०३ रूपैयाँको एउटा जेभी ठेक्काबाट पटक-पटक गरी बैंक खातामा ४ करोड २२ लाख ७५ हजार ९८५ रूपैयाँ घुस लिएको आयोगको अनुसन्धानबाट प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएका छन् ।






