स्थानीय तहका उम्मेदवार छान्ने खाका तयार पार्न रास्वपाले बनायो समिति

काठमाडौँ ।  स्थानीय तह निर्वाचन आउन एक वर्ष बाँकी छँदै राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी थालेको छ। रास्वपाले केन्द्रमा जस्तै स्थानीय तहमा पनि उम्मेदवार छनोटको रूपरेखा तयार पार्ने भएको छ। त्यस्तै क्याण्डिडेट क्लबमार्फत् उम्मेदवार छनोट गर्ने विधि तय गर्न लागिएको सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।  संघीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि तयार पारेको उम्मेदवार छनोटको रुपरेखा लागू गर्न सकेको थिएन। बालेन शाह समूहसँग एकता गर्नुपरेकाले पनि तय गरिएको विधि लागू गर्न नसकिएको रास्वपाले बताएको थियो।

स्थानीय तहमा भने पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने सहमहामन्त्री आचार्यले बताएका छन्।

उनका अनुसार गत वैशाख ७ गते बसेको केन्द्रीय समितिले आचार्यकै नेतृत्वमा ७ सदस्यीय स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लब सम्पादन समिति गठन गरेको छ।

जसमा रामकुमार ढुंगाना सचिव छन्। प्रतिनिधि सभा सदस्य समीक्षा बास्कोटा, केपी खनाल सदस्य छन्। त्यस्तै कामिनी चौधरी, रामकृष्ण भट्टराई, डिल्लिश्वोर कमार्की (रोहन) यसको सदस्य छन्।

यसको पहिलो बैठक पनि बसिसकेको छ। बिहीबार बसेको बैठकले पार्टीका सबै तहगत संरचनाबाट सुझाव लिने निर्णय गरेको छ।

जसअन्तर्गत् वैशाख १४ गते वडा तहमा छलफल गरी पालिकामा सुझाव पठाउन निर्देशन दिने निर्णय गरेको छ।

वैशाख १६ गते पालिका तहका कमिटीमा छलफल गरी जिल्लामा पठाउने निर्णय गरेको छ। वैशाख १७ गते जिल्लामा छलफल गरी प्रदेशमा पठाउने र वैशाख १८ गते सातै प्रदेशमा छलफल गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ।

यी तहका समितिहरूले सुझाव संकलन गर्दा सम्बन्धित समितिको सभापति उपस्थित हुन नसके उपसभापतिमार्फत् सकेसम्म भौतिक नभए भर्चुअल विधिबाट छलफल गरी तोकिएको समितिमा पठाउन पनि निर्देशन दिएको छ।

678370137_943234468416548_8478348432981702127_n-1776992634.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  ०७:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update