अर्थमन्त्री डा. वाग्लेलाई ८ पूर्वअर्थमन्त्रीको सुझाव, कसले के भने ?

 

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेटमा सुझाव लिएका हुन् ।

पूर्वअर्थमन्त्रीसँगको छलफलमा अर्थमन्त्री डा. वाग्लेले पहिला आफ्नो धारणा राखेका थिए । उनले भनेका थिए– ‘बजेटको अन्तिम समयमा छु । तपाईंहरूको राम्रो अनुभवसहितको कार्यक्रम अनुशरण गर्दै जाने हो । अब मलाई नयाँ परिस्थितिमा आउन लागेको नयाँ बजेटमा सुझाव पाउँ । हामी सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी गरिरहेका छौँ ।’

उनले उनले पूर्वअर्थमन्त्रीहरुसँग आफूहरु नयाँ परिस्थितिमा आएको पनि विगतका राम्रो कामको अनुशरण गर्दै अघि बढ्ने बताए ।

‘मैले पटक पटक भन्ने गरेको छु हाम्रा अग्रजले देखाएको बाटो नै हिँड्ने हो । यही व्यवस्था र यही राजनीतिक प्राप्तिबाटै  समृद्धि हासिल गर्ने हो,’ डा. वाग्लेले भने ।

छलफलमा पूर्वअर्थमन्त्री रामेश्वर खनालले विशेष गरेर ३ वटा सुझाव दिए । अर्थमन्त्री डा. वाग्लेको सचिवालयले दिएको जानकारी अनुसार उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यन्वयन गर्न, तयारी नभएको खुद्रा र टुक्रे आयोजनामा बजेट नछर्न, विद्युतमा मुअ कर नलगाउन सुझाव दिए ।

पूर्वअर्थमन्त्री शंकर कोइरालाले अर्थमन्त्री डा. वाग्लेलाई सही समयमा सही मान्छे सही ठाउँमा आएकोले सफल हुनुस भन्दै पूर्वअर्थमन्त्री रामेश्वर खनाल लगायतले दिएका पुराना आर्थिक प्रतिवेदनहरू अनुशरण गर्न, विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई खुला गर्न, आयोजना निर्माणका लागि वनको अप्ठ्यारो फुकुवा गर्न, नयाँ उद्योग र औद्योगिक क्षेत्र स्थापना गर्ने प्रयास गर्न र हेजिङ पोलेसी अगाडि बढाउन सुझाव दिए ।

उनले पूर्वअर्थमन्त्री जनार्दन शर्माको पालामा अघि बढीको कार्य अघि बढाउन र पुराना उद्योग जगाउने कुरा कति व्यवहारिक छ भनेर सोच्नुपर्ने बताए । सरकारले नयाँ कपडा उद्योग चलाउनु पर्ने उनको सुझाव छ ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले १९ बुँदे सुझाव दिए । उनले अर्थमन्त्रीहरू बजेटको बाउन्ड्रीमा बस्न खोज्नुहुन्छ तर, राजनीतिले छक्का हान्न खोज्छ, तपाईं बाउन्ड्रीमा बस्नुस् भन्ने सुझाव दिए । 

यस्तै, उनले राजश्व वृद्धिको सीमा १० देखि १२ प्रतिशत मात्रै भएकोले १५ प्रतिशत नराख्न सुझाए । उनले बजेट साँढे २० खर्बको बनाउन भने । आयकरको सीमा तल्लो स्ल्याब नचलान डा. खतिवडाको सुझाव छ ।

उनले विगतमा अन्तशुल्क जबर्जस्ती लगाइएकोले कम गर्दै जानुपर्ने धारणा राखे । यस्तै, मूल्य अभिबृद्धिकर (भ्याट) दुई दरमा जान नहुने बताए ।

संघ सरकारले गर्ने विकासमा उपभोक्ता समिति मार्फत गरिने कार्य रोक्न, लक्ष्यका केही कुरा पुरा गर्न सकिन्छ भने प्रयास गर्न, स्वास्थ्य विमामा थैली नबढाउन, कृषिमा अनुदान दिन र राष्ट्रिय गौरवका आयोजनामा  नयाँ सिराबाट अघि बढ्न पनि सुझाव दिए ।

‘राष्ट्रिय गौरबका आयोजनामा हामीले नै मनपरि गर्यौं । तपाईंले यो कुरा भंग गर्नुहोस् । नयाँ सिराबाट अघि बढ्नुहोस्,’ डा. खतिवडाको सुझाव छ ।

यस्तै, संस्थानहरुलाई एकीकृत तरिकाले विकासको मोडलमा लैजान, एलडीसी ग्याजुएशनमा खुट्टा नकमाउन, मुलुकलाई ग्रेलिष्टबाट निकाल्न कुटनैतिक पहल गर्न, वित्तीय क्षेत्र सुधार गर्न, नेपाल राष्ट्र बैंकसँग समन्वय गर्न र निजी क्षेत्रको मनोबल बढाउन उनको सुझाव छ ।

पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सरकार र निजी क्षेत्र मिलेर जाने वातावरण बनाउन सुझाव दिए । यस्तै, साना, मझौला र ठूलो औद्योगिक र निजी क्षेत्रलाई प्रोत्साहनको नीति लिन, काम गर्नेलाई प्रोत्साहन गर्न, कृषिलाई अनुदानबाट प्रोत्साहन गर्न, स्थीर सरकार चलाउने, कर्मचारीलाई प्रोत्साहन र दण्डको घोषणा पत्र कार्यन्वयन गर्न, निजी क्षेत्रमा गएको लगानीको पारदर्शिता बुझ्न र कृषि उपजलाई भारतीय बजार खोज्न तथा आर्थिक सम्वाद गर्न डा. लोहनीको सुझाव छ ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एलएमविआइएस मन्त्रीको जस्तो भएको तथा विषयगत मन्त्रालयको मन्त्रीको जस्तो भएको बताए । ठूलो आयोजना धेरै भएकोले घटाउन, मध्य पहाडी पहाडी राजमार्ग सांसदले घरजाने बाटो बनाएकाले अब पहाड छेडेर सुरुङ बनाउँन, राष्ट्रिय गौरवको आयोजनालाई ४/५ वटा मात्रै सिमित गर्न र जमिन प्रयोग सम्बन्धि कानुन सुधार नगर्ने हो भने केही पनि गर्न नसकिने अवस्था भएकोले सुधार गर्न सुझाव दिए ।

पाण्डेले जग्गालाई कृषि जमिन, उद्योग जमिन, आवास जमिन र व्यवसाय जमिन बनाउन सुझाए । यस्तै, पूर्वअर्थमन्त्री पाण्डेले पर्यटनको क्षेत्रमा गहन काम गरी भारतीय पर्टकलाई आकर्षित गर्ने योजना ल्याउन, जिर्ण सरकारी उद्योगहरु चलाउन स्पष्ट हुन्, सरकारी कार्यालय र कर्मचारीलाई वस्तु गरिद गर्ने कार्यमा रोक लगाउन र कर्मचारीको संख्यालाई २० प्रतिशतले कटौती गर्न सकिन्छ कि सकिन्न भनेर प्रश्न गरे ।

पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले सामाजिक सुरक्षा भत्ता हुने खानेलाई नदिन, नचाहिने संरचना हटाउन, नेपाल एयरलाइन्सलाई निजीकरण मोडलमा चलाउन, सरकारी उद्योग र जमिनलाई लिजमा दिन, वैदेशिक ऋण अति आवश्यकबाहेकमा घटाउन, पहाडमा ठूलो राजमार्ग बनाउने कुरालाई प्रोत्साहन नगर्न, पाँच अर्ब रुपैयाँभन्दा माथिको ठेक्कामा केही सिमितको मिलोमतो देखिएकाले यसलाई रोक्न, उत्पादन देखाएर मात्रै अनुदान ग्यारेन्टी गर्ने नीति लिन, आयतित कृषि उपजमा भ्याट लगाउन र पर्यटन क्षेत्रमा १२ महिना नै चल्ने सडक बनाउन सुझाव दिए ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा. वाग्ले बजेट बनाउन अप्ठ्यारो अवस्थामा रहेको भन्दै विगतमा आफूहरुले राम्रो पुर्वाधार बनाएको तर,औद्योगिक करिडोर बाहेक अन्यमा गरिएको लगानीको प्रतिफल कमजोर देखिएको बताए । उनले पूर्व पश्चिममा हुलाकीदेखि मध्य पहाडी र मदन भण्डारी राजमार्ग बनेपनि बजार विकास हुन नसकेकोले प्रतिफल कमजोर भएको धारणा राखे । उनले पर्यटन पूर्वाधारमा लगानी गर्न, भारतमा मध्यम वर्गलाई नेपाल आउने र रमाउने गरि हिलस्टेसन बनाउन सुझाव दिए ।

संघियतामा आर्थिक गतिविधि बढेको देखिन थालेको छ भन्दै पूर्वअर्थमन्त्री पुनले अहिले प्रदेश राजधानीमा खुलेको पाँच तारे होटलले यही संकेत गर्ने बताए । उनले ग्रामीण कृषि उपजलाई बजारमा ल्याउने वातावरण बनाउन पनि आवश्यक रहेको धारणा राखे । सार्वजनिक संस्थान चलाउन जनक शिक्षाको राम्रो अभ्यास नविर्सन भन्दै पालिका केन्द्रसम्म पुग्नेगरि १२ महिना नै चलाउन सकिने बाटो बनाउन सुझाव दिए ।

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बलियो जनमत र सरकार अनि बुझेको अर्थमन्त्री भएकोले यो विषय सकारात्मक रहेको बताए । सरकारले ल्याएको वाचापत्रलाई  पूर्णपरिपालन गर्न सकिने अवस्था अहिले रहेकोले त्यसैअनुसार बजेट बनाउन सुझाए । रिफर्मका लागि अर्थमन्त्रीको प्रतिवद्धता सुनेको भन्दै उनले केही सहयोग चाहिए आफू सधै तयार रहेको बताए ।

उनले स्रोतको अनुमानमा भन्दा पनि खर्चको अनुमान गरेर बजेट बनाउने परम्परा सच्याउन, संघको चुनाव जित्नेले स्थानीय चुनाव जित्ने भन्दै उनले स्थानीय र प्रदेश निर्वाचनलाई चिन्ता गरेर अहिले बजेट नबनाउन सुझाव दिए ।

उनले खानी बेचौ, ढुंगागिट्टी बेचौँ भन्दा आफूले चुटाइ परेको, चुरे बेच्न खोज्यो भनेर लखेट्ने काम भएको भन्दै खानी विभागले पहिचान गरेको खानी उत्खनन गरेर बेच्न हुने भएकोले आँट गर्न आग्रह गरे । उनले गेम चेन्जर परियोजना गीत गाएर मात्रै नबसी काम थाल्न आग्रह गरे ।

अर्का पूर्वअर्थमन्त्री जनार्दन शर्माले सल्लाह दिन रमाइलो तर कार्यन्वयन गह्रो हुने गरेको अनुभव सुनाए । बजेट राजनीतिक संकल्प पूरा गर्ने डकुमेन्ट भएको भन्दै उनले हर्मुज घाँटीमा विश्व अर्थतन्त्र अड्किएको धारणा राखे । उनले वर्तमान अर्थमन्त्रीलाई कार्याकालको चिन्ता नभएको भन्दै आफ्नै मन्त्री र नेताबाट धाकधम्की खेप्नुपर्ने अवस्था पनि नरहेको बताए । योजना छनोट र राजश्वमा लोकप्रियतायुक्त निर्णय गर्ने जोखिम लिन सुझाव दिदै संघीयता कार्यन्वयन गर्ने बजेट ल्याउन, निर्मम भएर सरकारी खर्च कटौती गर्न, हाइ अल्टिट्युट खेल पूर्वाधारमा लगानी गर्न, फलाम, तामा जस्तो खानिज उत्खननमा लगानी गर्न उनको सुझाव छ । पूर्वअर्थमन्त्री शर्माले ताजा तरकारी नेपाल कै खाउँ भन्दा आफूलाई अप्ठ्यारो परेको सुनाउदै यो जरुरी छ भने ।

उनले औषधी उद्योग सरकारले नै चलाउन, रासायनिक मल कारखाना खोल्न, निजी क्षेत्रको आत्माविश्वास र लगानी सुरक्षामा जोड दिन, पढ्दै कमाउँदै वा १२ कक्षा पास गर्दा सीप सहितको जनशक्ति देशले पाउने गरि बजेट ल्याउन, सीमा क्षेत्रको बजार हराभरा बनाउन र जुम्ला पुग्न टनेल खन्न सके कर्णालीको समृद्धि ल्याउँने भएकोले त्यतातिर सोच्न सुझाव दिए ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update