कमलामाई नगरपालिकाद्वारा बजार क्षेत्रका जीर्ण स्टलहरू भत्काउने अन्तिम तयारी, खाली गर्न कडा निर्देशन

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले बजार क्षेत्रभित्र रहेका जीर्ण स्टलहरू भत्काउने कार्यलाई तीव्रता दिने भएको छ।

नगर कार्यपालिकाको कार्यालयले आज एक जरुरी सूचना जारी गर्दै जेठ २२ गतेदेखि ती पुराना तथा जीर्ण संरचनाहरू भत्काउन सुरु गरिने स्पष्ट पारेको हो।

यसअघि पनि पटक(पटक सूचना प्रकाशन गरेर तथा बजार क्षेत्रमा माइक मार्फत माइकिङ गरेर सम्बन्धित सबैलाई यसबारे पूर्वजानकारी गराइसकेको नगरपालिकाले जनाएको छ।

महानगरपालिकाका अनुसार आगामी २०८३ जेठ २२ गते दिनको ठीक १ बजेदेखि जीर्ण स्टलहरू भत्काउने कार्य सुरु हुनेछ। सो कार्य सुरु हुनुभन्दा अगावै आ-आफ्नो स्टलमा रहेका सामानहरू हटाएर पूर्ण रूपमा खाली गरिदिन नगरपालिकाले अन्तिम पटक सचेत गराएको छ।

नगरपालिकाले यो आफ्नो अन्तिम सूचना भएको उल्लेख गर्दै तोकिएको समयभित्र स्टल खाली नगरेमा र कार्य सम्पादन गर्ने क्रममा कुनै पनि प्रकारको भौतिक वा आर्थिक क्षति हुन गएमा त्यसको जिम्मेवारी सम्बन्धित व्यवसायी वा व्यक्ति स्वयंले नै लिनुपर्ने कडा चेतावनी दिएको छ। बजार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउने अभियान अन्तर्गत नगरपालिकाले यो कदम चालेको हो।

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update