कमलामाई नगरपालिकाले आज साँझ दीप प्रज्वलन गर्ने, उपस्थितिको लागि सबैसँग आग्रह
काठमाडौँ ।

सिन्धुलीको कमलामाई नगरपालिकाले भोटेकोशीमा आएको महाविनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ।
नगरपालिकाले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी दिवंगत भएका सम्पूर्ण आत्माहरूको चीरशान्तिको कामना तथा आफन्तजनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलन गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम भदौ २२ गते सोमबार साँझ ५ः४५ बजे कमलामाई नगरपालिकाको कार्यालय भवन अगाडि आयोजना हुनेछ।
नगरपालिकाले कार्यक्रममा सम्पूर्ण नगरवासी, महानुभावहरू, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, विकास साझेदारका कर्मचारी, उद्योगी–व्यवसायी, पत्रकार तथा सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ।
बाढीबाट भएको मानवीय क्षतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रमले विपद्मा ज्यान गुमाउनेप्रति सामूहिक सम्मान र प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update