मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट

 

काठमाडौँ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

यो बजेट संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदानबाट संचालन हुने कार्यक्रम बाहेकको हो ।

मधेश प्रदेश सरकारको अर्थमन्त्री युवराज भट्टराईले आज प्रदेश सभामा सो बजेट पेश गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो भनेको कुल विनियोजित बजेटको ३५.६४ प्रतिशत हो ।

यस्तै, पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो भनेको कुल विनियोजित बजेटको ६४.३६ प्रतिशत हो ।

प्रदेश अर्थमन्त्री भट्टराईले पेश गरेको बजेटमा खर्च बेहोर्ने स्रोततर्फ, आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ सङ्कलन हुने र सङ्घीय सरकारबाट राजस्व बाँडफाँट बापत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ र चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ बेहोरिने मन्त्री भट्टराईले जानकारी दिए । उल्लिखित स्रोतहरूबाट खर्च बेहोर्दा न्यून हुने १ अर्ब ५० करोड रुपैयाँ रकम आन्तरिक ऋणबाट पूर्ति गरिने उल्लेख गरिएको छ ।

आगामी आर्थिक वर्षमा सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानतर्फ वित्तीय समानीकरण अनुदान बापत ७ अर्ब ८४ करोड ८५ लाख, सशर्त अनुदान बापत ८ अर्ब १० करोड २८ लाख, समपूरक अनुदान बापत ९४ करोड ७४ लाख र विशेष अनुदान बापत ७० करोड गरी जम्मा १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने अनुमान प्रदेश सरकारको छ । त्यस्तै, सङ्घीय राजस्व बाँडफाँट बापत १२ अर्ब ८३ करोड प्राप्त हुने अनुमान मन्त्री भट्टराईले गरेका छन् ।

 

प्रकाशित मिति: सोमबार, असार १, २०८३  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update