Odapalika - The Fourth Estate - चौथो अंग
आज विश्व क्यान्सर दिवस, १० देखि १४ वर्षका किशोरीलाई ६ फागुनसम्म एचपिभी खोप अभियान सञ्चालन 

काठमाडौँ । आज विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । 

विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो ।नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । 

यस अभियानमा १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।  

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप दिन लागिएको बताउँदै सबैजना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरेका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए ।

यो अभियानमा ५४ हजार १६० जना स्वयंसेवक खटाइनेछन् भने १५ हजार ६७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।

चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुआती अवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिन्छ । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपिभी खोप लगाइन्छ । 

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा २ हजार १६९ महिलालाई यस्तो क्यान्सर हुन्छ । हरेक वर्ष १ हजार ३१३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुने गरेको छ ।    

खोप लगाएपछि सुई लाएको ठाउँमा दुख्ने, सुन्निने, ज्वरो आउनेलगायत केही सामान्य असर (साइडइफेक्ट) हुनसक्ने बताउँदै डा बुढाथोकीले ती असर केही दिनमा आफैँ निको भएर जाने बताए ।
 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update